वीरगंज । रसुवाको भोटेकोसीमा आएको बाढीपछि विभिन्न स्थानबाट सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही तथा भारतका गरी ३९ जनाको विवरण जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको छ।
रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि आफन्तसँग सम्पर्कविहीन भएको भन्दै परिवारजनले खोजीका लागि प्रशासनमा जानकारी गराएपछि नामावली सार्वजनिक गरिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको खोज तथा उद्धारसम्बन्धी सूचनाअनुसार सम्पर्कविहीन भनिएका व्यक्तिको सूचीमा पर्साका नागरिकसँगै बारा र सर्लाहीका केही व्यक्ति तथा भारतीय नागरिकसमेत छन्।

प्रशासनले सार्वजनिक गरेको नामावलीमा सफिकराज मियाँ, साहबुद्दिन मंसुरी, सतीश मियाँ, समिम मियाँ, राहुल मियाँ, उमेश प्रसाद, वीर किशोर कुमार, राम करण कुमार, विनय कुमार साह, संजय साह सोनार, सुजत मियाँ, सागर कुर्मी, सुनिल मान डाँगोल, रिजवान अंसारी, आरम्भ चौरसिया, अलोक चौरसिया, लक्की पटेल, आवाज हवारी, नरेश राय, नरेश राई, नग नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दोङ्गल, संजय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, ज्ञानबहादुर खत्री, श्यामलाल मोत्तन, सामिन देवान, अनुतमबहादुर श्रेष्ठ, अभिषेक बरसौला, धनश्याम बरसौला, दिनेश परियार, पृथ्वी चौधरी, ओमिर अंसारी र सरुन कुमार यादव रहेका छन्।

तर प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार सूचीमा रहेका ज्ञानबहादुर खत्री र श्यामलाल मोत्तन हाल सम्पर्कमा आइसकेका छन्। यस्तै, नामावलीमा रहेका बाराका केही व्यक्ति तथा भारतीय नागरिकका आफन्तसमेत प्रशासनको सम्पर्कमा आएका छन्।
सम्पर्कमा आएका व्यक्तिहरूको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी थप विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। सूचीमा रहेका अन्य व्यक्तिको अवस्थाबारे पनि खोजी तथा जानकारी संकलनको काम भइरहेको प्रशासनको भनाइ छ।

आफन्तमा बढ्दो चिन्ता
भोटेकोसीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि काम तथा व्यवसायका लागि त्यहाँ पुगेका पर्सा र आसपासका जिल्लाका नागरिकसमेत प्रभावित भएका छन्।
बाढीपछि आफन्तसँग सम्पर्क हुन नसकेपछि परिवारजन चिन्तित बनेका छन्। उनीहरूले सम्बन्धित निकायमार्फत आफ्ना आफन्तको अवस्था पत्ता लगाउन आग्रह गरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको नामावली प्रारम्भिक विवरण भएको जनाएको छ। खोजीका क्रममा सम्पर्कमा आउने तथा फेला पर्ने व्यक्तिको विवरण क्रमशः अद्यावधिक गर्दै जाने प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनद्वारा सूचना दिन आग्रह
प्रशासनले सम्पर्कविहीन भनिएका व्यक्तिका आफन्तलाई आफ्नो नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा आवश्यक विवरणसहित जानकारी गराउन आग्रह गरेको छ।
खोज तथा उद्धारसम्बन्धी थप जानकारीका लागि प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालय पर्सासँग सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन भनिएका नागरिकको वास्तविक अवस्था सम्बन्धित निकायको समन्वयमा थप स्पष्ट हुँदै जाने प्रशासनको अपेक्षा छ।