रौतहटको कटहरिया बजारमा चोरी गरिएको खसी खरिद–बिक्री गरेको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीले चोरीमा संलग्न दुई जनासहित चोरीको खसी खरिद गरेको आरोप लागेका दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका–५ का २० वर्षीय मुकेश कुमार राम, १७ वर्षीय रुपेश राम तथा चोरीको खसी खरिद गरेको आरोपमा १८ वर्षीय समीर मन्सुरी र ४७ वर्षीय दिनेश दास बानियाँ रहेका छन्।
प्रहरीका अनुसार मुकेश र रुपेशले स्थानीय सफ्रुला भनिने सफरुदिन मियाँ मन्सुरीको करिब १५ देखि २० किलो तौलको खसी बुधबार राति चोरी गरेका थिए। चोरी गरिएको खसी उनीहरूले समीर र दिनेशलाई १३ हजार रुपैयाँमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
खसी चोरी भएको थाहा पाएपछि पीडित सफरुदिनले खोजी गर्ने क्रममा मुकेश र रुपेशलाई फेला पारेका थिए। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरियामा बुझाइएको थियो।
प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा चोरीको खसी खरिद गर्ने पक्षको समेत संलग्नता खुलेपछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई जयप्रकाश साहको टोलीले समीर र दिनेशलाई समेत पक्राउ गरेको जनाएको छ।
मिलापत्र गराउने प्रयास भएको दाबी
चारै जना पक्राउ परेपछि घटनालाई प्रहरीको अनुसन्धान र कानुनी प्रक्रियाबाट टुंग्याउनुभन्दा आर्थिक जरिवाना तिराएर गाउँमै मिलापत्र गराउने प्रयास भएको प्रहरी स्रोतको दाबी छ।
स्रोतका अनुसार केही बिचौलियाले चारै जनालाई एकमुष्ट १ लाख २० हजार रुपैयाँ जरिवाना तिराएर घटनालाई गाउँमै मिलाउने प्रयास गरेका थिए। तर, चोरीको घटनालाई आर्थिक जरिवाना वा आपसी मिलापत्रमा सीमित गर्न नमानेपछि वरिष्ठ सई साहले पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि माथिल्लो निकायमा पठाएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार साहले आपराधिक घटनामा संलग्न व्यक्तिलाई गाउँमै मिलापत्र गराएर छाड्दा गलत सन्देश जाने भन्दै कानुनी प्रक्रिया अघि बढाउन जोड दिएका थिए।
सोही क्रममा पक्राउ परेका चारै जनालाई शनिबार थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गरुडामा पठाइएको जनाइएको छ।
चोरीको सामान किन्ने पक्ष पनि अनुसन्धानको दायरामा
घटनाले चोरी गर्ने व्यक्तिमात्र नभई चोरीको सामान खरिद गर्ने पक्षमाथि समेत अनुसन्धान आवश्यक रहेको देखाएको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार कटहरिया र आसपासका क्षेत्रमा खसी–बोका चोरीका घटना बेलाबेलामा हुने गरेका छन्। चोरी गरिएका पशु सजिलै बिक्री हुने अवस्था रहे चोरी गर्ने व्यक्तिलाई प्रोत्साहन पुग्ने उनीहरूको बुझाइ छ।
चोरीको सामान खरिद गर्ने व्यक्तिमाथि पनि कानुनी कारबाही हुन सके चोरीको बजार नियन्त्रण गर्न सहयोग पुग्ने स्थानीय बताउँछन्। उनीहरूका अनुसार चोरी गर्ने र चोरीको सामान खरिद गर्ने दुवै पक्षलाई समान रूपमा अनुसन्धानको दायरामा ल्याउन आवश्यक छ।
त्यस्तै, आपराधिक घटनालाई आर्थिक लेनदेन वा गाउँस्तरको मिलापत्रमार्फत टुंग्याउने प्रयास भए त्यसले अपराध नियन्त्रणमा थप चुनौती सिर्जना गर्ने स्थानीयको भनाइ छ।
जाहेरीको प्रतीक्षामा प्रहरी
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा चार जना नियन्त्रणमा रहेको पुष्टि गरेका छन्।
उनका अनुसार शनिबार साँझसम्म पीडित पक्षबाट औपचारिक जाहेरी प्राप्त भइसकेको थिएन। पक्राउ परेका व्यक्तिहरूमाथि घटनाको वास्तविकता, चोरीमा उनीहरूको भूमिका तथा चोरी गरिएको खसी खरिद–बिक्रीमा संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।