नीम करौली बाबाको जीवनीबाट प्रेरित फिल्म **‘हनुमान अंश’**ले भारतीय बक्स अफिसमा लगातार राम्रो प्रदर्शन गरिरहेको छ। प्रदर्शनको ३४औँ दिनसम्म आइपुग्दा फिल्मले भारतमा १५० करोड भारुभन्दा बढीको नेट कलेक्सन गरेको छ।
सैकनिल्कका अनुसार फिल्मले बुधबार ३४औँ दिनमा मात्रै १० करोड २५ लाख भारु नेट कमाएको छ। यससँगै फिल्मको भारतमा कुल नेट कलेक्सन १५३ करोड १३ लाख भारु पुगेको छ।
बुधबार फिल्मका लागि देशभर ७ हजार ८१० शो उपलब्ध थिए भने हलमा यसको अकुपेन्सी ३३.९६ प्रतिशत रहेको जनाइएको छ। अघिल्लो दिन अर्थात् मंगलबार फिल्मले १० करोड ७५ लाख भारु कमाएको थियो। मंगलबारको तुलनामा बुधबारको कमाइ करिब ४.७ प्रतिशतले घटे पनि फिल्मको व्यापार भने बलियो अवस्थामा रहेको देखिन्छ।
प्रदर्शनको सुरुवाती चरणमा अपेक्षाकृत सामान्य व्यापार गरेको ‘हनुमान अंश’ले तेस्रो सातापछि गति लिन थालेको थियो। चौथो सातामा मात्रै फिल्मले करिब ६१ करोड भारु कमाएको बताइएको छ। पाँचौँ सातामा प्रवेश गरिसक्दा पनि फिल्मले हलमा उल्लेख्य दर्शक तानिरहेको छ।
विशाल चतुर्वेदीको निर्देशन रहेको फिल्ममा शोभिनाव सत्याले नीम करौली बाबाको भूमिका निर्वाह गरेका छन्। सहायक निर्देशकका रूपमा काम गर्दै आएका सत्याले यही फिल्ममार्फत मुख्य भूमिकामा डेब्यु गरेका हुन्।
करिब २ करोड भारु बजेटमा निर्माण भएको भनिएको ‘हनुमान अंश’ सन् २०२६ मा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको सूचीमा आठौँ स्थानमा रहेको दाबी गरिएको छ।