रौतहटको बौधिमाई नगरपालिका–७ बंकुलबाट सशस्त्र प्रहरीले १ करोड ५ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध अन्तःशुल्क स्टिकर बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) सरमजुवाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो।
शुक्रबार दिउँसो सशस्त्र प्रहरी निरीक्षक अच्युत सुवेदीको कमान्डमा खटिएको गस्ती टोलीले बंकुल भन्सार कार्यालय पछाडिको धानबारीमा शंकास्पद अवस्थामा रहेको कार्टुन फेला पारेको थियो।
सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठका अनुसार भारतबाट कार्टुनमा राखेर अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिहरूले सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि सामान छाडेर फरार भएका थिए। टोलीले कार्टुन खोलेर जाँच गर्दा नेपाल सरकारको आन्तरिक राजस्व विभागबाट जारी हुने प्रकृतिका अन्तःशुल्क स्टिकर फेला पारेको थियो।
बरामद स्टिकर ५० यूपी १८० मिलिलिटर साइजका मदिराका बोतलमा टाँस्न प्रयोग हुने प्रकृतिका रहेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बरामद स्टिकरको मूल्य अन्दाजी १ करोड ५ लाख रुपियाँभन्दा बढी रहेको छ।
बरामद स्टिकर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।