सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्याणपुरबाट प्रहरीले ९० किलो लागुऔषध गाँजा बरामद गरेको छ। गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार राति करिब ११ बजे गाँजाको बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी महेशवारीबाट संयुक्त टोली परिचालन गरिएको थियो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा ४३ वर्षीय जगदिश यादव रहेका छन्।
प्रहरी टोलीले कल्याणपुरस्थित यादवको घरमा खानतलासी गर्दा सेतो बोराभित्र प्लास्टिकमा राखिएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ। बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।