

सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामास्थित पासवान टोलमा बुधबार राति भएको आगलागीमा ९ परिवारका १३ घर जलेर नष्ट भएका छन्। आगलागीबाट घरमा राखिएका खाद्यान्न, लत्ताकपडा, नगद रुपैयाँ तथा दैनिक उपभोग्य सामग्री जलेपछि पीडित परिवारको बिचल्ली भएको छ ।
आगलागीबाट राजकुमार पासवानको घरमा राखिएको ४० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। उनले बुधबार दिउँसो घरायसी खर्च चलाउन उक्त रकम ऋण लिएका थिए। तर, राति भएको आगलागीमा ऋण लिएको रकमसहित घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको हो ।
त्यस्तै, गजेन्द्र पासवानको घरमा राखिएको २५ हजार रुपैयाँ पनि आगलागीमा जलेर नष्ट भएको छ ।
आगलागीबाट घरबारविहीन भएका परिवारलाई अब कहाँ बस्ने र दैनिक छाक कसरी टार्ने भन्ने चिन्ता थपिएको छ । मजदुरी गरेर जुटाएका सामान र जीवनयापनको आधारसमेत आगलागीले नष्ट गरेको पीडितहरूले बताएका छन् ।
“आगलागीले मजदुरी गरेर जुटाएका सामान र दैनिक जीवन धान्ने आधारसमेत खोसिदियो,” अग्निपीडित राजकुमार पासवानले भने, “क्षणभरमै घरबारविहीन बन्नुपरेको छ। अहिले बस्ने ठाउँको चिन्ता छ । भण्डारण गरेर राखेको खाद्यान्न जलेपछि बिहान–बेलुकाको छाक टार्न पनि समस्या भएको छ ।”
स्थानीयका अनुसार आगलागीमा पाचु पासवान र मञ्जु पासवानका तीन–तीन घर जलेर नष्ट भएका छन्। त्यस्तै, दिनेश पासवान (भगलु), राजकुमार पासवान (गरमदल), गजेन्द्र पासवान, पवन पासवान, खिखरी पासवान, लल्लु पासवान र महेन्द्र पासवानका एक–एक घर जलेका छन् ।
स्थानीयवासी, सुरक्षाकर्मी तथा राजविराज, हनुमाननगर कंकालिनी, रुपनी र कञ्चनरुप नगरपालिकाका दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट भएको कुल क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ। सप्तरीका प्रहरी उपरीक्षक रुपक खड्काले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएका छन् ।