सर्लाहीको कबिलासी नगरपालिकामा हाई भोल्टेज विद्युत् प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया किशोरीको करिब चार घण्टापछि सकुशल उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा बिहीबार राति किशोरीको उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमका अनुसार बिहीबार अपराह्न करिब साढे ४ बजे कबिलासी नगरपालिका–२ स्थित पिपरैया गाउँबाट करिब ६ सय मिटर पूर्वतर्फ रहेको १३२ केभी क्षमताको विद्युत् प्रसारण लाइनको टावरको माथिल्लो भागमा किशोरी चढेकी थिइन् ।
टावरमा चढ्ने किशोरी कबिलासी नगरपालिका–७, सिरसियाका विसुन माझीकी १७ वर्षीया छोरी राधे माझी रहेको प्रहरीले जनाएको छ ।
किशोरी टावरमा चढेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । हाई भोल्टेज विद्युत् प्रवाह भइरहेकाले जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले सम्बन्धित निकायसँग समन्वय गरी प्रसारण लाइनको विद्युत् सेवा बन्द गराएका थिए ।
त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार अभियान सञ्चालन गरेको थियो। करिब चार घण्टाको प्रयासपछि किशोरीलाई सकुशल टावरबाट तल झारिएको डीएसपी गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार परिवारका सदस्यले किशोरीको मानसिक अवस्था अस्वस्थ रहँदै आएको बताएका छन् । समयमै विद्युत् सेवा बन्द गरी संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरिएकाले सम्भावित ठूलो दुर्घटना टरेको प्रहरीले जनाएको छ ।