लागुऔषध गाँजा बरामदसम्बन्धी मुद्दामा पक्राउ परेका सप्तरीको सुरुङ्गा नगरपालिकाका नगरसभापति मोहम्मद साबिर अलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बन गरेको छ ।
रास्वपाको मधेश प्रदेश समितिले बिहीबार विज्ञप्ति जारी गर्दै अलीलाई तत्कालका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको हो ।
मधेश प्रदेश समितिका महासचिव मनिषकुमार साहद्वारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्न र कानुनी प्रक्रियाको सम्मान गर्न अन्तिम निष्कर्ष नआएसम्म अलीलाई जिम्मेवारीमा रहेर कामकाज गर्न रोक लगाइएको उल्लेख छ ।
विज्ञप्तिमा अनुसन्धानबाट प्राप्त निष्कर्ष र पार्टीको विधानबमोजिम आवश्यक थप निर्णय लिइने पनि जनाइएको छ ।
प्रहरीले गत बुधबार सुरुङ्गा नगरपालिका–५ निवासी ४७ वर्षीय अलीलाई सोही नगरपालिकाको वडा नम्बर ४ स्थित कदमाहा बजारबाट पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार २०७१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा ना. ३ ख ७५९१ नम्बरको ट्रक र बा. ८ च ९९६३ नम्बरको कार एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो। घटनापछि ट्रक चालक र कार नियन्त्रणमा लिइए पनि कार चालक फरार भएका थिए ।
उक्त घटनाका आरोपी अलीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय लहानले २०८१ फागुन १५ र २०८२ पुस २६ गते पुनः खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पत्राचार गरेको थियो ।
उक्त मुद्दामा पक्राउ परेका अलीलाई अनुसन्धानको निष्कर्ष नआउँदै पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको रास्वपा मधेश प्रदेश समितिले जनाएको छ ।