धानबालीमा विभिन्न रोगको संक्रमण फैलिएपछि धनुषाका किसान यस वर्ष उत्पादन घट्ने चिन्तामा परेका छन् । जिल्लामा रोपाइँ भएको धानबालीमध्ये करिब १० प्रतिशतभन्दा बढी क्षेत्रमा रोगको प्रकोप देखिएपछि उत्पादनमा गिरावट आउन सक्ने कृषि प्राविधिकहरूले बताएका छन् ।
धनुषामा सामान्यतया करिब ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आए पनि यस वर्ष ४० हजार ५ सय १५ हेक्टरमा मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र धनुषाका बाली विकास अधिकृत मिथिलेश साहका अनुसार यस वर्ष जिल्लामा करिब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
रोपाइँ भएको खेतमा समेत रोग तथा कीराको प्रकोप देखिएपछि किसान थप चिन्तित बनेका छन् । साहले रोगले बढी क्षति नगरेको भए धान उत्पादन राम्रो हुने सम्भावना रहे पनि पछिल्लो अवस्थाले चुनौती थपेको बताए ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख प्रदीप यादवका अनुसार जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा ‘राइस ब्लास्ट’, ‘ब्राउन लिफ स्पट’ र ‘सिथ ब्लाइट’ रोगको संक्रमण देखिएको छ । यी रोगको प्रकोपले धानको वृद्धि र उत्पादनमा असर पार्न सक्ने भएकाले किसानलाई नियमित रूपमा खेतबारीको अनुगमन गर्न उनले आग्रह गरेका छन् ।
यादवका अनुसार नेपालमा दर्ता नभएको ‘सोना मन्सुली’ जातको धान लगाउँदा पनि समस्या देखिएको छ । बढी उत्पादन हुने अपेक्षामा किसानले भारत तथा सीमावर्ती क्षेत्रबाट ल्याइएको उक्त जातको धान लगाउने गरेका छन्। उनले रोगको प्रकोप बढी देखिएका क्षेत्रमा उत्पादन घट्न सक्ने बताए ।
कृषि ज्ञान केन्द्रले रोगको लक्षण देखिनासाथ कृषि प्राविधिकसँग परामर्श लिन र रोगको पहिचानपछि मात्र सिफारिसअनुसार विषादी प्रयोग गर्न किसानलाई सुझाव दिएको छ । रोगअनुसार विषादीको प्रकार, मात्रा र प्रयोग विधि फरक हुने भएकाले जथाभावी विषादी प्रयोग नगर्न पनि केन्द्रले आग्रह गरेको छ ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथका सूचना अधिकारी रवीन्द्रप्रसाद साहले मधेस प्रदेशका धेरै क्षेत्रमा ‘सोना मन्सुली’ जातको धान लगाइने गरेको बताए। नेपालमा दर्ता नभएका र भारत तथा सीमावर्ती क्षेत्रबाट ल्याइएका जातको खेती गर्दा रोगव्याधिको जोखिम बढ्न सक्ने उनको भनाइ छ ।
उनका अनुसार धानका जात सिफारिस गर्नुअघि भौगोलिक अवस्था, मौसम, हावापानी र रोग–कीराको जोखिमबारे विस्तृत अनुसन्धान गरिन्छ। त्यसैले किसानले नेपालमा दर्ता तथा सिफारिस भएका जातको खेती गर्नुपर्नेमा उनले जोड दिए ।
धानको पातमा असामान्य दाग देखिनु, बोट ओइलाउनु र बालीको वृद्धि रोकिनु रोग संक्रमणका सम्भावित लक्षण हुन्। यस्ता लक्षण देखिएमा समयमै रोग पहिचान गरी नियन्त्रणका उपाय अपनाउन कृषि प्राविधिकहरूले किसानलाई सुझाव दिएका छन् ।
धानबालीमा रोगको प्रकोप नियन्त्रण गर्न समयमै प्राविधिक सहयोग, रोगको सही पहिचान र उपयुक्त व्यवस्थापन आवश्यक देखिएको छ। अन्यथा, रोगको संक्रमणले यस वर्ष धनुषाको धान उत्पादनमा असर पार्न सक्ने चिन्ता बढेको छ ।