दसैँको रौनकले गाउँबस्ती ढाकिरहेका बेला सप्तरीको डाक्नेश्वरी नगरपालिका–८, कट्टी परवाहा टोलमा एउटा परिवार शोकमा डुबेको छ । सर्पदंशबाट पाँच वर्षीय बालक सुमित मण्डलको मृत्यु भएपछि परिवारसँगै सिंगो बस्ती शोकमा परेको छ। सर्पले डसेपछि तत्काल अस्पताल लैजानुपर्ने बालकलाई सुरुमा झारफुक गराउँदा उपचारमा ढिलाइ भएको थियो ।
बुधबार दिउँसो घरको आँगनमा खेलिरहेका बेला सुमितलाई विषालु सर्पले डसेको थियो। सर्पले डसेपछि उनी आत्तिँदै हजुरआमा फूलकुमारीको काखमा पुगेका थिए। केही बेरमै उनी अचेत भए । तर, तत्काल अस्पताल पुर्याउनुको सट्टा परिवारले गाउँकै धामीझाँक्री बोलाएर झारफुक गराउन थाल्यो ।
झन्डै आधा घण्टासम्म झारफुक गर्दा पनि बालकको अवस्थामा सुधार नआएपछि उनलाई कल्याणपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो । त्यहाँ भेन्टिलेटरको सुविधा नभएको र बालकको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्यकर्मीले सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिए ।
त्यसपछि परिवारले सुमितलाई राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्यायो। त्यहाँबाट पनि अन्यत्र लैजान सल्लाह दिइएपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरे ।
सुमितका बुवा ओमप्रकाश मण्डल र आमा रेणुदेवीका लागि छोराको मृत्यु असह्य पीडा बनेको छ। समयमै उपचार सुरु गर्न सकेको भए छोराको ज्यान जोगिन सक्थ्यो कि भन्ने प्रश्नले परिवारलाई सताइरहेको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार बालकलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको थियो। विष शरीरभरि फैलिएको अवस्थामा उपचार कठिन हुन सक्ने उल्लेख गर्दै उनले सर्पदंशको घटनामा झारफुकमा समय बिताउनुको सट्टा तत्काल अस्पताल पुग्नुपर्ने बताए ।
मृत घोषणा गरिसकेपछि पनि झारफुक
घटनाको अर्को दुःखद पक्ष चिकित्सकले बालकलाई मृत घोषणा गरिसकेपछि पनि परिवारका सदस्यले धामीझाँक्रीप्रतिको विश्वास नत्याग्नु हो ।
अस्पतालमा चिकित्सकले मृत्यु पुष्टि गरिसकेपछि पनि आफन्तले बालकको शव अस्पतालको मुख्य प्रवेशद्वारनजिकै राखेर गाउँबाट धामीझाँक्री बोलाएका थिए। त्यहाँ पुनः झारफुक गरियो। तर, बालकको शरीरमा कुनै हलचल देखिएन ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले आफन्तलाई सम्झाउँदै अन्धविश्वासमा नपर्न आग्रह गरेपछि उनीहरूले शव लिएर अस्पताल परिसर छाडेका थिए। तर, त्यसपछि पनि उनीहरू झारफुकमै विश्वास गर्दै सीमावर्ती भारतीय बजार महादेवमण्ठस्थित एक धामीको घर पुगे। त्यहाँ पनि विभिन्न विधिबाट झारफुक गरियो। बालक जीवित नभएपछि आफन्त निराश हुँदै फर्किए ।
प्रहरीले घटनाबारे चासो देखाएपछि आफन्तले बिहीबार गजेन्द्रनारायण सिंह अस्पतालमा शव पोस्टमार्टमका लागि बुझाएको अस्पताल प्रशासनले जनाएको छ ।
अन्धविश्वास कि स्वास्थ्य चेतनाको अभाव ?
सुमितको मृत्यु एउटा परिवारको निजी पीडा मात्र होइन, सर्पदंशजस्तो आकस्मिक अवस्थामा समयमै उपचार लिनुपर्ने चेतनाको अभावले निम्त्याउन सक्ने जोखिमको दुःखद उदाहरण पनि बनेको छ ।
सर्पले डसेपछि तत्काल अस्पताल पुग्नुपर्ने जानकारी हुँदाहुँदै पनि परम्परागत विश्वास, डर र स्वास्थ्यसम्बन्धी जानकारीको अभावका कारण उपचारमा ढिलाइ हुने गरेको चिकित्सकहरू बताउँछन् ।
डा. झाका अनुसार सर्पदंशको घटनामा बिरामीलाई सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुर्याउनु आवश्यक हुन्छ। झारफुकमा समय बिताउँदा उपचार सुरु हुन ढिलाइ हुने र बिरामीको अवस्था थप गम्भीर बन्न सक्ने जोखिम रहन्छ ।
सुमितको मृत्युले सर्पदंशसम्बन्धी जनचेतना, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र अन्धविश्वासविरुद्ध प्रभावकारी सचेतना अभियानको आवश्यकता फेरि उजागर गरेको छ । समयमै उपचार र सही निर्णयले जीवन बचाउन सक्ने भएकाले सर्पदंशका घटनामा झारफुकको सट्टा तत्काल अस्पताल पुग्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।