लहान नगरपालिका–२३ स्थित बलान नदीमा डुबेका नौ वर्षीय अभिनन्दन महतोलाई बर्दिबासबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ।
बिहीबार लहान नगरपालिका–२३, बथनाहा तिलेबोनाका १४ वर्षीय राजु महतो र नौ वर्षीय अभिनन्दन महतो नदीमा नुहाउने क्रममा डुबेका थिए। उनीहरूमध्ये राजु महतोलाई बिहीबार साँझ ५ बजे स्थानीय युवाले माछा मार्ने महाजालको प्रयोग गरी नदीबाट मृत अवस्थामा निकालेका थिए।
बिहीबार फेला नपरेका अभिनन्दनलाई शुक्रबार महोत्तरीको बर्दिबासबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले बताउनुभयो।
बलान नदीको गहिरो पानी जमेको स्थानमा गोताखोर टोलीले करिब एक घण्टासम्म खोजी गरेपछि बालकलाई फेला पारेको थियो।
गोताखोर टोलीसँगै बलान नदीमा बालक डुबेको स्थानमा पुग्नुभएका सिरहा क्षेत्र नम्बर १ का सांसद बब्लु गुप्ता र लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोसमक्ष स्थानीयवासीले नदी किनारका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। साथै, सिरहाका बलान र कमला नदीमा वर्षेनी हुने डुबान तथा डुबेर हुने मृत्युका घटना न्यूनीकरण गर्न गोताखोर टोलीको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
स्थानीयवासीका अनुसार बलान नदीमा एक वर्षमा चार जनाको डुबेर मृत्यु भएको छ।
सांसद गुप्ताले नदीमा डुबेर हुने दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र सिरहामा गोताखोर टोलीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।