नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी एमालेका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिँदै समर्थन फिर्ता लिएका हुन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर, खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा देवी थापा र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन्।
एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई सम्बोधन गर्दै पठाएको पत्रमा सरकार सञ्चालन, सुशासन, विकास निर्माण तथा जनहितका विषयमा गरिएको सहमति अपेक्षाअनुसार कार्यान्वयन नभएको उल्लेख गरेका छन्।
पत्रअनुसार दलहरूबीच भएको १५ बुँदे सहमतिमा समन्वय र सहकार्यका माध्यमबाट जनतालाई सुशासनको प्रत्यक्ष अनुभूति गराउने, आर्थिक वर्ष २०८३/०८४ को बजेटमा विकासका योजनालाई प्राथमिकता दिने, मन्त्रालय तथा मन्त्रीहरूको संख्या व्यवस्थापन गर्ने र विकास निर्माणका योजना खुला तथा प्रतिस्पर्धात्मक विधिबाट सञ्चालन गर्नेलगायत विषय समेटिएका थिए।
तर, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सहमति कार्यान्वयन हुन नसकेको एमालेको भनाइ छ। प्रदेश सरकारको काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ।