सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धान खेतमा मारेर गाडिएको अवस्थामा एउटा हात्ती फेला परेको छ । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।
कंकालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्वमा रहेको धान खेतमा खाल्डो खनेर हात्तीलाई गाडिएको अवस्थामा फेला पारिएको हो । नियमित गस्तीमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले हात्तीलाई गाडिएको अवस्थामा फेला पारेको थियो ।
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरका अनुसार हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपिएको अवस्थामा फेला पारिएको हो । गाडिएको हात्तीलाई बाहिर निकालेर पोस्टमार्टम प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख ठाकुरका अनुसार हात्तीलाई दुईदेखि तीन दिनअघि नै मारेर गाडिएको हुन सक्ने आशङ्का गरिएको छ । यद्यपि, हात्तीको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन । मृत हात्तीको पोस्टमार्टम कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।
पोस्टमार्टम प्रक्रिया पूरा भएपछि मृत हात्तीलाई पुनः खाल्डोमा गाडिने जनाइएको छ । हात्तीको मृत्यु कसरी भयो र घटनामा अन्य व्यक्तिको समेत संलग्नता छ वा छैन भन्ने विषय अनुसन्धानपछि स्पष्ट हुने कार्यालयले जनाएको छ ।