जनकपुरधाम । दसैँलाई लक्षित गरी किनमेल बढेसँगै मधेश प्रदेशसहित देशभरका बजारमा चहलपहल बढेको छ । दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, गरगहना, विद्युतीय उपकरण तथा सवारीसाधनको कारोबार बढ्दा चाडपर्वले आर्थिक गतिविधिलाई चलायमान बनाएको छ। होटल, रेस्टुरेन्ट, यातायात र पर्यटन क्षेत्रसमेत चाडपर्वको प्रभावबाट लाभान्वित भएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधामसहित देशका प्रमुख सहरका बजारमा दसैँका लागि आवश्यक सामग्री खरिद गर्ने उपभोक्ताको उपस्थिति बाक्लिएको छ । जनकपुरधामका शिवचोक, रामचोक, मुरलीचोक र जानकी चोकलगायतका क्षेत्रमा किनमेल गर्नेको चहलपहल बढेको छ । ग्राहक आकर्षित गर्न व्यापारीले विभिन्न छुट तथा उपहार योजनासमेत ल्याएका छन् ।
तीजबाट सुरु हुने चाडपर्व लक्षित आर्थिक गतिविधि दसैँ हुँदै तिहार र छठसम्म जारी रहने गरेको छ । चाडपर्वमा परिवार तथा आफन्त भेला हुने, नयाँ लुगा लगाउने, मिठोमसिनो खाने र मान्यजनबाट आशीर्वाद लिने परम्पराले वस्तु तथा सेवाको माग बढाउन सहयोग पुर्याउँछ ।
जनकपुरधाममा लामो समयदेखि अर्थशास्त्र अध्यापन गर्दै आउनुभएका सञ्जय साहका अनुसार चाडपर्वका बेला घरायसी खर्च बढ्नुका साथै व्यवसायीले विभिन्न छुटका योजना ल्याउने गरेका छन् । दसैँ, तिहार र छठलाई लक्षित गरी सञ्चालन गरिने व्यापारिक गतिविधिले बजारमा वस्तु तथा सेवाको माग बढाउने उहाँको भनाइ छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले चाडपर्वको कारोबारले वर्षभरिको व्यापार चक्रमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँका अनुसार उपभोक्ता फर्निचर, इलेक्ट्रोनिक्स तथा अन्य टिकाउ वस्तु खरिद गर्न चाडपर्वमा दिइने छुटको प्रतीक्षामा रहने प्रवृत्ति बढ्दै गएको छ । इन्टरनेट सेवा, सञ्चार, होटल, रेस्टुरेन्ट र ट्राभल एजेन्सीले पनि चाडपर्व लक्षित प्याकेज ल्याउने गरेका छन् ।
नेपाल उद्योग परिसङ्घ, मधेश प्रदेशका अध्यक्ष सीए प्रमोद साहले दसैँ, तिहार र छठका बेला आम्दानी तथा खर्च दुवै बढ्ने भएकाले आर्थिक गतिविधिमा गति थपिने बताउनुभयो। कर्मचारीले तलबसँगै चाडपर्व खर्च पाउने र सर्वसाधारणले वर्षभरि बचत गरेको रकम खर्च गर्ने हुँदा बजारमा पैसाको प्रवाह बढ्ने उहाँको भनाइ छ ।
सरकारी तथा निजी क्षेत्रका कर्मचारीले पाउने चाडपर्व खर्च, वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषण र ग्रामीण क्षेत्रमा हुने किनमेलले पनि बजारको माग बढाउन सहयोग गर्छ । चाडपर्व मनाउन विदेशबाट घर फर्किने नेपालीको सङ्ख्या बढ्दा सार्वजनिक यातायात, हवाई सेवा र होटल व्यवसायमा समेत चाप बढ्ने गरेको छ ।
नेपाल चेम्बर अफ कमर्स, मधेश प्रदेशका अध्यक्ष विजयकुमार साहले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढ्ने र व्यापारिक गतिविधि विस्तार हुने बताउनुभयो। उहाँका अनुसार दसैँमा सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीले तलबका अतिरिक्त चाडपर्व खर्च पाउने भएकाले उनीहरूको खर्चले बजारमा किनमेल बढाउँछ । चाडपर्वले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याउने उहाँको भनाइ छ ।
बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कार्कीका अनुसार दसैँअघिको अवधिमा मात्रै अन्य समयको १० महिनाबराबरको व्यापार हुने गरेको छ । छुट तथा आकर्षक योजनाका कारण यस समयमा बजारमा रौनक बढ्ने गरेको उहाँले बताउनुभयो । उपभोक्ताको खर्च गर्ने प्रवृत्ति बढ्दा व्यापारीका लागि पनि यो समय बढी कारोबार गर्ने अवसर बन्ने गरेको छ ।
चाडपर्वका बेला नयाँ सवारीसाधन खरिदमा छुट, सहुलियत ब्याजदरमा कर्जा तथा किस्ताबन्दीको सुविधा सार्वजनिक गरिने भएकाले उपभोक्ताको खरिद निर्णयमा प्रभाव पर्ने गरेको छ । अनलाइन किनमेलको विस्तारसँगै परम्परागत बजारका अतिरिक्त डिजिटल व्यापारमा पनि चहलपहल बढेको छ ।
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको छ । चाडपर्वमा घरपरिवारको खर्च तथा अन्य आवश्यकताका लागि विदेशबाट रकम पठाउने क्रमले बजारको माग बढाउन सहयोग पुर्याउँछ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह दुई खर्ब १५ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले बढी हो ।
मधेश प्रदेशका आठवटै जिल्लाका बजारमा चाडपर्वको चहलपहल बढेको छ । जनकपुरधाममा दसैँदेखि छठसम्म सञ्चालन हुने सस्ता बजारले उपभोक्तालाई एउटै स्थानमा विभिन्न सामग्री खरिद गर्ने अवसर दिएका छन् । स्थानीय तथा राष्ट्रिय उत्पादनको बिक्री बढ्दा साना व्यवसायी र उत्पादकले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।