

सर्लाही । दसैँ नजिकिएसँगै सर्लाहीका बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । अध्ययन तथा रोजगारीका लागि काठमाडौँ उपत्यकालगायतका स्थानमा बस्दै आएका मानिस गाउँ फर्किन थालेपछि जिल्लामा दसैँको रौनक छाएको हो ।
शनिबारदेखि दसैँको बिदा सुरु भएसँगै आगामी तीन–चार दिन सार्वजनिक यातायातमा यात्रुको चाप अझ बढ्ने यातायात व्यवसायीले बताएका छन् । लालबन्दी बजारमा टिकट काउन्टर सञ्चालन गर्दै आउनुभएका लालबन्दी नगरपालिका–५ निवासी विजय लामाका अनुसार फूलपातीदेखि नवमीसम्म काठमाडौँबाट सर्लाही आउने यात्रुको सङ्ख्या अत्यधिक बढ्ने छ ।
लामाका अनुसार यस अवधिमा सञ्चालन हुने अधिकांश सवारीसाधनका सिट अग्रिम बुकिङ भइसकेका छन् । कार्यालय तथा शैक्षिक संस्था बन्द भएपछि गाउँ फर्किनेको सङ्ख्या थप बढ्ने भएकाले बजार र सडकमा चहलपहल अझ बढ्ने स्थानीयको भनाइ छ ।
लालबन्दीलगायत जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा कोठा भाडामा लिएर बस्दै आएका विद्यार्थी दसैँ बिदा सुरु भएसँगै आ–आफ्नो गाउँ फर्किएका छन् । उनीहरू गाउँ फर्किएपछि बजारमा दसैँको चहलपहल बढेको छ ।
हरिपुर नगरपालिका–२ का वडाध्यक्ष निलविक्रम थापाले वैदेशिक रोजगारीमा रहेका तथा काठमाडौँ उपत्यकामा बस्दै आएका मानिस गाउँ फर्किन थालेपछि दसैँको रौनक थपिएको बताउनुभयो । उहाँका अनुसार सर्वसाधारण दसैँका लागि किनमेल गर्न, घरआँगन सफा गर्न, रङ्गरोगन गर्न तथा लिपपोत गर्न व्यस्त छन् ।
जिल्लाको बयलवास, लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बागमती, बरहथवा र हरिपुरलगायत उत्तरी भेगका बजारमा उपभोक्ताको चहलपहल बढेको छ । उद्योग वाणिज्य सङ्घ हरिवनका अध्यक्ष प्रयागराज पोतेले लामो समयदेखि मन्दीजस्तो अवस्थाबाट गुज्रिरहेका व्यवसायीलाई दसैँका बेला कपडा, खाद्यान्न, मरमसला तथा रङ्गरोगनका सामग्रीको बिक्री बढ्दा केही राहत मिलेको बताउनुभयो ।
यद्यपि, ऋण लिएर व्यापार व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले दसैँमा अपेक्षाअनुसार कारोबार गर्न नसक्दा आर्थिक दबाबबाट मुक्त हुन नसकेको पोतेको भनाइ छ ।
दसैँ नजिकिएसँगै जिल्लाका हाटबजारमा खसीबोकाको किनबेच पनि बढेको छ । लालबन्दी नगरपालिका–७ का स्थानीय श्याम शिवाकोटीका अनुसार हाटबजार लाग्ने दिन खसीबोकाको कारोबार बढेसँगै यस वर्ष मूल्यसमेत महँगो भएको छ ।
यता, धान पाक्ने समय भएकाले किसानलाई बाली भित्र्याउने चटारो पनि छ । एकातिर सर्वसाधारण दसैँको तयारी र किनमेलमा व्यस्त छन् भने अर्कोतिर किसान पाकेको धान काटेर भित्र्याउन लागिपरेका छन् ।