बडादसैँको अवसरमा वीरगंज महानगर क्षेत्रमा लाग्ने परम्परागत दसैँ मेलामा यस वर्ष पनि जलेबी आकर्षणको केन्द्र बनेको छ ।
दसैँको रौनकसँगै वीरगंजको मुख्य सडकका विभिन्न स्थानमा जलेबीका पसल सञ्चालनमा आएका छन् । जलेबी किन्न र खान आउने उपभोक्ताको चहलपहल बढेको छ ।
यस वर्ष वीरगंजको मुख्य सडक विस्तार भएपछि जलेबीका पसल सञ्चालन तथा व्यवस्थापन गर्न व्यवसायीलाई सहज भएको छ । विगतमा साँघुरो सडकका कारण पसल राख्न र जलेबी बिक्री गर्न समस्या हुने गरे पनि सडक फराकिलो भएपछि सहज भएको व्यवसायीहरू बताउँछन् ।
गीतामन्दिरदेखि माईस्थान, माईस्थानदेखि घण्टाघर तथा माईस्थानदेखि बिर्तामन्दिरसम्मका विभिन्न स्थानमा जलेबीका स्टल सञ्चालनमा आएका छन् । दसैँ मेला घुम्न आउने सर्वसाधारणका लागि यी स्टल जलेबी किनमेल गर्ने प्रमुख गन्तव्य बनेका छन् ।
वीरगंजमा लामो समयदेखि लाग्दै आएको दसैँ मेलामा जलेबी विशेष आकर्षणका रूपमा रहँदै आएको छ। परिवार तथा आफन्तसँग मेला घुम्न आउनेहरूले जलेबी किनेर खाने र घरपरिवारका लागि लैजाने गरेका छन् । यसको स्वाद लिन बालबालिकादेखि वृद्धवृद्धासम्म आकर्षित हुने गरेका छन् ।
यस वर्ष भने जलेबीको मूल्य बढेको छ । गत वर्ष प्रतिकिलो २०० रुपैयाँमा बिक्री भएको जलेबीको मूल्य यस वर्ष ४० रुपैयाँले बढेर २४० रुपैयाँ पुगेको छ । तेल, चिनी र ग्यासको मूल्य वृद्धि भएकाले जलेबीको मूल्य बढाउनुपरेको व्यवसायीहरूको भनाइ छ ।
व्यवसायीका अनुसार गत वर्ष दसैँ मेलामा ३२ वटाभन्दा बढी जलेबीका स्टल सञ्चालनमा थिए । यस वर्ष स्टलको सङ्ख्या थप बढेको छ । दसैँमा जलेबीको माग र आकर्षण कायम रहेकाले व्यवसायीहरूले बिक्री बढ्ने अपेक्षा गरेका छन् ।
दसैँको परम्परा, मेलाको रौनक र जलेबीको स्वादले वीरगञ्जको मुख्य सडकलाई उत्सवमय बनाएको छ । सडक विस्तारसँगै पसल व्यवस्थापन सहज बनेपछि यस वर्ष जलेबी व्यवसायसमेत विस्तार भएको देखिन्छ ।