बारा । बाराको सुवर्ण गाउँपालिका–३ मा शुक्रबार राति अज्ञात चोरहरूको समूहले एकैसाथ तीनवटा घरमा चोरी गरेको छ । घरको पर्खाल फुटाएर चोरहरूले लाखौँ रुपैयाँ बराबरको धनमाल लुटपाट गरेका हुन् ।
प्रहरीका अनुसार स्थानीय महिन्द्र प्रसाद यादव, अनुठा कुशवाहा र साहेब प्रसाद यादवको घरमा चोरी भएको हो । तीमध्ये एक घरबाट मात्रै करिब दुई लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना तथा नगद चोरी भएको पुष्टि भएको छ ।
अन्य दुई घरबाट चोरी भएको धनमाल र कुल क्षतिको विवरण भने आउन बाँकी छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।