

सर्लाही । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पूर्व–पश्चिम महेन्द्र राजमार्गको कमला–ढल्केबर–पथलैया सडकखण्ड विस्तारको काम सुस्त बनेको छ । सडक विस्तारका लागि निर्धारित समयको ६८ प्रतिशत अवधि बितिसक्दा निर्माणको भौतिक प्रगति भने ३० प्रतिशतमा सीमित भएको छ ।
धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४.७५ किलोमिटर सडकलाई तीन वर्षभित्र विस्तार गर्ने लक्ष्यसहित तीन खण्डमा ठेक्का लगाइएको थियो । बजार क्षेत्रमा छ लेन र अन्य क्षेत्रमा चार लेनमा विस्तार गर्ने योजना रहे पनि निर्माणको गति सुस्त हुँदा निर्धारित समयमै काम सम्पन्न हुने सम्भावना कमजोर बन्दै गएको छ ।
कमला–ढल्केबर–पथलैया सडक आयोजनाका प्रमुख एवं वरिष्ठ डिभिजनल इन्जिनियर राजेशकुमार दासले सडक विस्तारको काम लक्ष्यभन्दा ३० प्रतिशतभन्दा बढीले पछाडि रहेको बताउनुभयो । उहाँका अनुसार अहिलेको गतिमा काम अघि बढे निर्धारित तीन वर्षभित्र आयोजना सम्पन्न गर्न कठिन हुने देखिएको छ। त्यसैले निर्माणको समय थप्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
तीन खण्डमा विस्तारको काम
आयोजनाअन्तर्गत पहिलो खण्डमा कमला पुलदेखि बडहरीसम्मको २२ किलोमिटर सडक विस्तारको जिम्मा भारतको इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले पाएको छ । दोस्रो खण्डमा बडहरीदेखि सर्लाहीको फूलजोरसम्मको २९ किलोमिटर र तेस्रो खण्डमा फूलजोरदेखि बागमती पुलसम्मको २३ किलोमिटर सडक विस्तारको ठेक्का चिनियाँ कम्पनी एसडब्लुइजी र नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले संयुक्त रूपमा पाएका छन् ।
आयोजनाका अनुसार धनुषा खण्डमा ३० प्रतिशत, महोत्तरी खण्डमा २८ प्रतिशत र सर्लाही खण्डमा ३६ प्रतिशत काम सम्पन्न भएको छ। पुल तथा कल्भर्ट निर्माणको प्रगतिका कारण समग्र भौतिक प्रगति देखिए पनि सडक विस्तारको मुख्य काम भने अत्यन्त सुस्त रहेको आयोजना प्रमुख दासले बताउनुभयो ।
विद्युत्का पोल नहट्दा पनि समस्या
सडक विस्तारमा ढिलाइ हुनुको एउटा प्रमुख कारण विद्युत्का पोल स्थानान्तरणमा भएको ढिलाइ पनि रहेको आयोजनाले जनाएको छ । सडक विस्तारका क्रममा नेपाल विद्युत् प्राधिकरणले करिब तीन हजार पोल हटाउनुपर्ने भए पनि हालसम्म करिब एक हजार पाँच सय पोल मात्रै स्थानान्तरण भएका छन् ।
निर्माण व्यवसायीले माटो अभाव, निर्माण सामग्रीको मूल्यवृद्धि, कामदारको अभाव, रुख कटानमा ढिलाइ र विद्युत्का पोल समयमै नसारिएको लगायतका कारण देखाउँदै आएका छन् ।
दुई महिनामा तीन प्रतिशत मात्रै प्रगति
निर्माणाधीन सडकको निरीक्षणमा बिहीबार पुग्नुभएका प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले दुई महिनाको अवधिमा सडक विस्तारको काममा अपेक्षित प्रगति नभएको बताउनुभयो ।
उहाँका अनुसार साउनको अन्तिम साता र असोजको अन्तिम साता गरिएको निरीक्षणबीच जम्मा तीन प्रतिशत मात्रै प्रगति देखिएको छ। काममा ढिलाइ हुँदा स्थानीय बासिन्दा तथा राजमार्ग प्रयोग गर्ने यात्रुले थप सास्ती भोग्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
खरिद ऐन र बैङ्क ऐन संशोधन तथा मूल्य समायोजनसम्बन्धी कार्ययोजना ल्याउँदासमेत निर्माणले गति लिन नसकेकोमा सभापति गजुरेलले असन्तुष्टि व्यक्त गर्नुभयो ।
निरीक्षणमा सहभागी प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले सडक विस्तारमा देखिएका समस्या समाधान गर्न र विद्युत्का पोल स्थानान्तरणलगायतका विषयमा नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिरहेको बताउनुभयो ।
निर्माणको निर्धारित समयको ठूलो हिस्सा बितिसक्दा पनि भौतिक प्रगति न्यून रहेकाले कमला–ढल्केबर–पथलैया सडक विस्तारको समयमै सम्पन्न हुनेमा प्रश्न उठेको छ ।