काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले) सँग सहकार्य गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको तस्बिरसहितको समाचार सार्वजनिक भएपछि अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै एमालेसँग सहकार्य गर्ने विषयमा कुनै समझदारी नभएको बताउनुभएको हो ।
अध्यक्ष यादवका अनुसार सरकारमा सहभागी हुने विषयमा जसपा नेपालले अहिलेसम्म कुनै निर्णय वा नीति बनाएको छैन । उहाँले कुनै पनि दलसँग सरकारमा सहभागी हुने विषयमा समझदारी नभएको र तत्काल त्यस्तो सम्भावना पनि नरहेको स्पष्ट पार्नुभएको छ ।
बेग्लै प्रसङ्गमा खिचिएको तस्बिरलाई केही व्यक्तिले दुरुपयोग गरी गलत, भ्रामक तथा दुष्प्रचार फैलाएको भन्दै यादवले आश्चर्य व्यक्त गर्नुभएको छ । उहाँले गलत मनसायले फैलाइएका कपोलकल्पित, पूर्वाग्रही तथा झुटा प्रचारमा विश्वास नगर्न आग्रह गर्नुभएको छ ।
अध्यक्ष यादवले जसपा नेपालले हालसम्म सरकार गठनका लागि कुनै दाबी नगरेको र कुनै पनि राजनीतिक दलसँग समर्थनसमेत नमागेको स्पष्ट पार्नुभएको छ ।