वीरगंज महानगरपालिकाले बीपी उद्यान निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै आएको छ । बीपी उद्यानको नाममा हरेक बर्ष बजेट विनियोजन हुँदै आएको छ । तर, उद्यानमा हालसम्म वास्तवमा कति, के के काम भयो ? कति रकम खर्च भयो ? र अबको योजना के छ ? यी विषयहरूमा भने महानगरबासीले जानकारी पाउन सकेका छैनन् ।
महानगरपालिकाले बीपी उद्यान निर्माणका लागि करिब ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ । तर, उक्त बजेटको भुक्तानीसमेत हालसम्म हुन नसकेको दाबी रहेकोे छ ।
उद्यान निर्माणको काम भइरहेको भन्दै बेला बखत प्रचार गरिए पनि कुन संरचना निर्माण भयो, कति प्रतिशत काम सम्पन्न भयो, कति रकम खर्च भयो, कति रकम भुक्तानी हुन बाँकी छ र अब कति बजेट आवश्यक पर्छ भन्ने विषयमा स्पष्ट रुपमा महानगरपालिकाले जानकारी नदिएको स्थानीयको गुनासो छ ।
यता, बीपी उद्यान निर्माणका लागि २०६० सालमा नेपाल यातायात संस्थान, वीरगंजबाट करिब १० बिघा जग्गा खरिद गरिएको थियो । उक्त जग्गामा अन्तर्राष्ट्रिय सभाहलसहित बीपी उद्यान पार्क निर्माण गर्ने सरकारको योजना रहेको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलले बताएकका छन् ।


नेपाली काँग्रेसका नेता तथा मुलुकका जननिर्वाचित पहिलो प्रधानमन्त्री स्वर्गीय बीपी कोइरालाको स्मृतिमा निर्माण गर्ने भनिएको बीपी उद्यान २३ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन ।
२०६० सालमा करिब १० करोड रुपैयाँ खर्च गरेर रेल्वेको १० बिघा जग्गा खरिद गरी अघि बढाइएको यो पार्क निर्माण योजना अहिलेसम्म पनि बजेट, डीपीआर र निर्माण प्रक्रियासँग जोडिएका प्रश्नबीच अल्झिरहेको छ ।
बीपी उद्यानका लागि पटक–पटक बजेट विनियोजन गर्ने, शिलान्यास गर्ने र निर्माण सुरु गर्ने क्रम दोहोरिए पनि परियोजनाले पूर्णता पाउन सकेको छैन । जसका कारण महानगरको मुटुमा रहेको १० बिघा जग्गा र हालसम्म भएको खर्चको उपयोगिता माथि प्रश्न उठ्न थालेको छ ।
अहिले निर्माण भइरहेको बीपी उद्यान पार्कको काम पारदर्शी हुनुपर्ने मधेशका पूर्वमुख्यमन्त्री समेत रहेका प्रदेशसभा सदस्य जितेन्द्र सोनल बताउ छन् ।
बीपी उद्यान निर्माणका लागि जग्गा खरिद भएको २३ वर्ष बितिसक्दा पनि परियोजनाले पूर्णता पाउन सकेको छैन । विभिन्न चरणमा बजेट तथा निर्माणका प्रयास हुँदै आए पनि उद्यानले अझै पूर्ण आकार लिन सकेको छैन ।
अब वीरगञ्ज महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि तथा वातावरणीय सुधारलाई प्राथमिकता दिँदै बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कार्यलाई तीव्रता दिरहँदा डीपीआर, हालसम्मको बजेट विनियोजन, खर्च तथा भुक्तानी विवरण, निर्माणको भौतिक प्रगति र आगामी कार्ययोजना सार्वजनिक गर्नुपर्ने महानगरको जिम्मेवारी र जवाफदेतिा समेत देखिन्छ ।