आ बाट आमा २’ हेरेर फर्किएँ । तर मन चलचित्र हलमै छोडेर आउन सकिनँ ।
मनभरि पीडा, आँखाभरि आँसु र हृदयभरि अनगिन्ती प्रश्न बोकेर फर्किएँ । पर्दामा पात्रहरू रोइरहेका थिए, तर कताकता आफ्नै जीवन रोइरहेको अनुभूति भयो । कथा उनीहरूको थियो, पीडा आफ्नै जस्तो लाग्यो । विशेषगरी आमाको माया देख्न, महसुस गर्न र उनको न्यानो काखमा सुरक्षित हुन नपाएकाहरूका लागि यो चलचित्र केवल एउटा कथा होइन । मनको कुनै कुनामा चुपचाप दुखिरहने पुरानो घाउ फेरि बल्झिएजस्तै हो । अरूले आमाको माया देखेर आँसु झार्दा आफूले कहिल्यै अनुभूत गर्न नपाएको त्यही मायाको रिक्तताले भित्रभित्रै रुवाउँछ ।
चलचित्रमा आमा देवकीको भूमिकामा विपना थापा र बुबा बासुदेवको भूमिकामा देखिएका कलाकारको अभिनयले मन गहिरोसँग छोयो । देवकी र बासुदेवबीचको संवाद, ‘एकअर्काबाट टाढा हुँदा जून हेरेर बस्नू’, अझै मनमा गुञ्जिरहेको छ । कति सरल शब्द, कति गहिरो प्रेम १ एउटै जून हेरेर एकअर्कालाई सम्झने वाचा गरेका ती दुई मनलाई के थाहा, परिस्थितिले एक दिन सदाका लागि छुट्याउनेछ भनेर १
जून आकाशमै रहिरह्यो, तर एकअर्कालाई हेरेर सम्झनुपर्ने ती आँखाहरू बन्द भए ।
देवकी केवल आफ्ना छोराहरूकी आमा थिइनन् । उनी त अरूको दुःखलाई समेत आफ्नै ठान्ने विशाल हृदयकी प्रतीक थिइन् । आफ्नो कोखको सन्तान नभए पनि अपाङ्गता भएको बालकलाई छातीमा टाँसेर माया दिइन्, हुर्काइन् । अरूका सन्तानलाई आफ्नै ठान्ने ती आमाले बुढेसकालमा आफ्नै सन्तानबाट एक्लोपन भोग्नुपर्ला भन्ने के थाहा १
सन्तानको भविष्य बनाउँदा आमाबुबाका सपना कहाँ हराउँछन् l
आमाबुबाले छोराहरूको भविष्य बनाउन कति सपना त्यागे, कति पीडा लुकाए । जेठो छोरो बलरामले आमाबुबासँग सल्लाहसमेत नगरी अदालतमा विवाह गर्यो । विदेश जाने तयारी पूरा भएपछि अघिल्लो दिन मात्रै खबर पाउँदा पनि आमाबुबाले छोराको भविष्यकै लागि मनमा ढुङ्गा राखेर सहमति जनाए । सन्तानका निर्णयले मन दुखे पनि उनीहरूले माया घटाएनन् ।
एक दिन देवकीले कान्छो छोरा कृष्णलाई भनेको संवादले मन चुँडिन्छ, ‘तिमीलाई थाहा छ नि, धेरै माया गर्यो भने टाढा भइदोरहेछ । कतै तिमी पनि टाढा भयौ भने‘।’
यो केवल संवाद होइन, माया गरेर पनि एक्लिएकी आमाको मनमा पलाएको असुरक्षा हो । एउटा छोरो टाढा भइसकेपछि अर्को छोरो पनि गुमाउनुपर्ने हो कि भन्ने भय हो । आमाले छोरासँग ठूलो अपेक्षा गरेकी थिइनन्, केवल आफूलाई छोडेर नजाओस् भन्ने आश्वासन खोजिरहेकी थिइन् ।
विदेशमा सफलता, तर आफ्नै बुबाका लागि समय भएन
बलराम पढाइमा अब्बल थियो । विदेशमा जीवन स्थापित गर्यो, घर बन्यो, गाडी आयो र आर्थिक अवस्था सुध्रियो । बाहिरबाट हेर्दा उसका सपना पूरा भएका थिए । तर सफलताको यही यात्रामा आफ्नै बुबासँग बसेर दुई शब्द बोल्ने समय हरायो ।
बासुदेव आर्यघाटमा जीवनको अन्तिम क्षणसँग लडिरहेका बेला पनि अस्ट्रेलियाको व्यस्तताले उसलाई भाइ कृष्णका सयौँ फोन उठाउन दिएन । बुबाको मृत्युको खबर पाएपछि पनि ऊ नेपाल फर्किएन । आफ्ना छोराछोरीको हेरचाह गर्नुपर्ने कारण देखाउँदै आमालाई समेत नेपाल आउन दिएन ।
आमालाई अस्ट्रेलिया लैजाँदा उसले एक महिनापछि बुबाको भिसा आउने आश्वासन दिएको थियो । यही आशामा देवकी श्रीमान्सँग फेरि भेट हुने प्रतीक्षामा बसिन् । तर भिसा आएन । नेपालमा बासुदेव श्रीमतीको सम्झनामा छटपटाइरहे, अस्ट्रेलियामा देवकी श्रीमान्को वियोगमा तड्पिइरहिन् । जीवनभर सँगै दुःखसुख बाँडेका दुई आत्माले बुढेसकालमा एउटै छानामुनि बस्नसमेत पाएनन् ।
श्रीमतीलाई भेट्ने आशा बोकेर मितज्यूको घरबाट फर्किएका बासुदेवलाई बाटोमै ट्रकले ठक्कर दियो र उनको मृत्यु भयो ।
चलचित्रले दर्शकसामु असह्य प्रश्न छोड्छ—बलरामले समयमै बुबाको भिसाको प्रक्रिया अघि बढाएको भए के यो वियोग टार्न सकिन्थ्यो रु
यसको उत्तर कसैसँग छैन । तर समयमै गर्न सकिने एउटा निर्णय नगर्दा जीवनभरको मिलन कसरी सदाका लागि बिछोडमा बदलिन सक्छ भन्ने पीडादायी सम्भावनाले मन हल्लाउँछ ।
आमाबुबा जिम्मेवारी कि बोझ रु
चलचित्रको अन्त्यतिर बलराम आमाबुबाबाट टाढिँदै जानुमा श्रीमतीको आग्रह र पारिवारिक दबाबको भूमिका पनि देखिन्छ । उसलाई आमाको माया थिएन भन्ने होइन, तर आफ्ना निर्णयमा दृढ हुन नसक्दा आमाबुबाको पीडा बुझ्ने ठाउँ साँघुरिँदै गयो ।
पछि आमाको मिर्गौलाले काम गर्न छाडेपछि र नियमित डायलाइसिस आवश्यक भएपछि उपचारको खर्चको कारण देखाउँदै उनलाई नेपाल फर्काउनुपर्ने अवस्था आयो । बच्चाको हेरचाह गर्न आमा चाहिने, तर आमालाई नै स्याहार र उपचार चाहिँदा उनी बोझजस्तै हुने यो अवस्थाले मनमा प्रश्न उठाउँछ—हामी आमाबुबालाई माया गर्छौँ कि उनीहरूले हाम्रो जीवनमा पुर्याउने सुविधालाई रु
आफ्नो परिवारको जिम्मेवारी पूरा गर्नु आवश्यक छ । श्रीमतीलाई माया गर्नु र आमाबुबालाई सम्मान गर्नु परस्पर विरोधी कुरा होइनन् । पारिवारिक समस्या आउनु अस्वाभाविक होइन, तर समाधान खोज्दा कसैको माया, सम्मान र अस्तित्वलाई ओझेलमा पार्नु दुःखद हो ।
आमाबुबाको त्यागमा उभिएको मानिसले आफ्ना निर्णयको जिम्मेवारी लिन नसक्नु पनि विचार गर्नुपर्ने विषय हो । सम्बन्धमा सन्तुलन कायम गर्नु, एकअर्काको भावना बुझ्नु र कठिन परिस्थितिमा मानवीय संवेदना नहराउनु नै परिवारको वास्तविक परीक्षा हो ।
असल सन्तानको पहिचान धन र प्रमाणपत्रले होइन
अर्कोतिर छ कान्छो छोरा कृष्ण । पढाइमा दाइ जति अब्बल नभए पनि आमाबुबाको साथ नछोड्ने प्रण गर्ने सन्तान ।
बुबाको मृत्यु हुँदा नेपालमै रहेर दाजुलाई बारम्बार फोन गर्ने कृष्णले आफ्नै आँखाअगाडि बुबाको अन्तिम समयको पीडा सहनुपर्यो । पछि आमालाई भेट्न कठिन बाटो रोजेर अस्ट्रेलियासम्म पुग्यो । सङ्घर्ष, जोखिम र जेलसम्मको अवस्था सामना गरेर पनि आमासम्म पुग्ने उसको प्रयत्नले देखाउँछ—सन्तानको मूल्याङ्कन शैक्षिक प्रमाणपत्र वा आर्थिक हैसियतले मात्रै हुँदैन, दुःखको समयमा उसले निभाएको कर्तव्यले हुन्छ ।
एकातिर आर्थिक सफलता, अर्कोतिर सम्बन्धप्रतिको निष्ठा । चलचित्रले यी दुई पात्रमार्फत असहज सत्य देखाउँछ—धेरै कमाउँदैमा धेरै माया पाइँदैन, सफल हुँदैमा असल सन्तान भइँदैन ।
हामी छोराछोरीलाई डाक्टर, इन्जिनियर वा विदेशमा स्थापित व्यक्ति बनाउन चाहन्छौँ । तर असल सन्तान बन्न पनि सिकाउँछौँ कि सिकाउँदैनौँ रु पैसा कमाउने सीप सिकाउँछौँ, तर अरूको आँसु पुछ्ने संवेदना सिकाउँछौँ रु आफ्नो भविष्य बनाउने हिम्मत दिन्छौँ, तर निर्णयको जिम्मेवारी लिने साहस दिन्छौँ रु
सन्तानको हातमा उज्ज्वल भविष्य सुम्पिने चाहनामा उनीहरूको मनमा मानवीय संवेदना रोप्न बिर्सिरहेका त छैनौँ रु
दूरी किलोमिटरमा मात्र हुँदैन
विदेश जानु गलत होइन । आफ्ना छोराछोरीको हेरचाह गर्नु र आर्थिक जिम्मेवारी पूरा गर्नु पनि गलत होइन । तर यी जिम्मेवारीबीच आमाबुबाको एक्लोपन, अन्तिम समय र उनीहरूलाई चाहिएको आत्मीयता बिर्सनु गम्भीर विषय हो ।
दूरी सधैँ किलोमिटरमा हुँदैन । कहिलेकाहीँ एउटै घरभित्र बसेर पनि मनहरू हजारौँ माइल टाढा हुन्छन् ।
‘आ बाट आमा २’ ले मलाई रुवायो, तर आँसु मात्रै दिएन । आफ्नै सम्बन्धहरूलाई फर्केर हेर्ने ऐना पनि दियो । हामी आमाबुबालाई माया गर्छौँ भन्छौँ, तर उहाँहरूले त्यो माया महसुस गर्न पाउनुभएको छ कि छैन भनेर सोचेका छौँ रु उहाँहरूलाई औषधि र उपचार मात्रै होइन, हाम्रो समय, उपस्थिति र अपनत्व पनि चाहिन्छ ।
कहिलेकाहीँ पैसाभन्दा हाम्रो उपस्थिति प्यारो हुन्छ, उपहारभन्दा दुई शब्द बोल्ने समय अमूल्य हुन्छ । अन्तिम संस्कारमा काँध दिनुभन्दा जीवित छँदै सहारा दिन सक्नु ठूलो कुरा हो ।
कहिल्यै अनुभूत गर्न नपाएको आमाको न्यानो काख
चलचित्रको अन्त्यपछि पनि मनमा एउटा प्रश्न बाँकी रह्यो—मैले कहिल्यै अनुभूत गर्न नपाएको आमाको न्यानो काख कस्तो हुन्थ्यो होला रु आमाले सन्तानलाई छातीमा टाँसेर दिने मायाको अनुभूति कस्तो हुँदो हो रु
सायद यसको उत्तर शब्दले दिन सक्दैन । कतिपय आँसु आँखाबाट झर्छन्, कतिपय मनभित्रै जमेर बस्छन् । कतिपय घाउ समयसँगै पुराना हुन्छन्, तर निको हुँदैनन् । आज यो चलचित्रले मेरो मनमा त्यस्तै एउटा घाउ फेरि बल्झाइदिएको छ ।
‘आ बाट आमा २’ टिमलाई यस्तो गहिरो पारिवारिक संवेदना पर्दामा उतारेकोमा धन्यवाद । यो चलचित्र हेरेर बिर्सिने कथा होइन, आफ्ना प्राथमिकतामाथि प्रश्न गर्न र माया गर्ने मानिसहरूलाई समयमै माया व्यक्त गर्न सम्झाउने कथा हो ।
आमाबुबालाई माया गर्न ढिलो नगरौँ
आमा भनेको केवल एउटा शब्द होइन, जीवनभरि तिर्न नसकिने ऋण हो । बुबा भनेको केवल एउटा सम्बन्ध होइन, हामी ढल्दा अड्याउने आधार हो । उहाँहरूलाई माया गर्न ढिलो नगरौँ । आजै फोन गरौँ, आवाज सुनौँ, हालखबर सोधौँ र मनमा भएको माया व्यक्त गरौँ । किनकि बितेको समय र सदाका लागि बन्द भएको आमाबुबाको आवाज कहिल्यै फर्केर आउँदैन ।
आज पनि मनमा त्यही संवाद गुञ्जिरहेको छ—‘एकअर्काबाट टाढा हुँदा जून हेरेर बस्नू ।’
कुनै दिन हामी पनि कसैका लागि जून हेरेर बस्नेछौँ । तर जून त देखिएला, ‘आमा १’ भनेर बोलाउँदा जवाफ दिने आवाज नहुन सक्छ । त्यसैले उहाँहरू छँदै उहाँहरूको माया बुझौँ, प्रतीक्षा छोट्याऔँ र साथ दिऔँ । किनकि आमाबुबालाई माया गर्नु भनेको उहाँहरू बितेपछि सम्झनु मात्र होइन, उहाँहरू जीवित छँदै उहाँहरूको मन बुझ्नु र साथ दिनु हो ।