प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री शाहले आज साँझ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकातर्फ प्रस्थान गर्ने गरेका हुन्। संयुक्त राष्ट्रसंघको उच्चस्तरीय सप्ताहअन्तर्गत हुने महासभामा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा हुँदैछ। महासभाको सामान्य बहस सेप्टेम्बर २२ देखि सुरु हुँदैछ ।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले सम्बोधनका क्रममा नेपालमा हालै भएको भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षति, जलवायु परिवर्तनका प्रभाव तथा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।
नेपालमा गत अगस्ट २६ मा आएको भोटेकोशी–त्रिशूली बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। उक्त विपद्पछि जलवायु परिवर्तनबाट हिमाली मुलुकले भोगिरहेका जोखिम, जलवायु न्याय तथा पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको विषय प्रधानमन्त्रीको भ्रमणका क्रममा उठाउने तयारी गरिएको छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको टोली सेप्टेम्बर २६ मा काठमाडौं फर्कने कार्यक्रम छ ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली सेप्टेम्बर २० अर्थात् असोज ४ गते नै न्युयोर्क पुगिसकेको छ । परराष्ट्रमन्त्री खनालले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउने र विभिन्न मुलुकका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
भिडियाे रिपाेर्ट