बाराको पचरौता नगरपालिका–२ स्थित चपुरी चौकबाट प्रतिबन्धित लागू औषध एम्पुल ओसारपसारमा संलग्न तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्लास्थित बिजबनी पञ्चायत, जितना थाना अन्तरगत वडा नं. २, रेगनियाँ टोलका १९ वर्षीय कन्हैया कुमार यादव, सोही टोलका २६ वर्षीय बलिराम कुमार यादव र सोही पञ्चायतअन्तर्गत वडा नं. १ बलुवा टोलका २० वर्षीय वकिल कुमार यादव रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
यसअघि असार २९ गते आइतबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट खटिएको टोलीले बारा जिल्लाको आदर्शकोटवाल गाउँपालिका–४ हर्नैया चौक नजिक दुईवटा कार्डबोर्ड क्यारेटमा लुकाइराखिएको अवस्थामा ४,५०० थान प्रतिबन्धित एम्पुल बरामद गरेको थियो ।
घटनाबारे अनुसन्धान गर्दै जाँदा ती लागू औषध ओसारपसारमा तीनै जना संलग्न रहेको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।