अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको अभियोगमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत एसएसपी गिरीविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीले सुरक्षा निकायमा प्रवेश तथा पदोन्नतिका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएको छ ।
अनुसन्धानका क्रममा गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एग्जामिनेसन बोर्ड, पटनाबाट एसएलसी उत्तीर्ण गरेको भनी बुझाएको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
उक्त नक्कली एसएलसी प्रमाणपत्रका आधारमा गिरीले २०५० सालदेखि त्रिभुवन विश्वविद्यालय र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक तहको अध्ययन गरेको देखिएको छ ।
अख्तियारका अनुसार यही शैक्षिक प्रमाणपत्रका आधारमा गिरी २०५२ साल पुस १६ गते नेपाल प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा नियुक्त भएका थिए र त्यसपछि क्रमशः पदोन्नति हुँदै एसएसपी पदसम्म पुगेका हुन् ।