पर्यटक र व्यावसायिक भिसामा नेपाल प्रवेश गरी गैरकानुनी गतिविधि गरेको आरोपमा पछिल्लो ६ महिनामा ३३३ जना विदेशी नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले उनीहरूलाई जरिवाना असुल गरी तोकिएको अवधिसम्म नेपालमा प्रवेश गर्न नपाउने गरी निस्कासन गरेको छ ।
विभागका अनुसार, साउन २०८२ देखि पुस मसान्तसम्म पक्राउ परेका विदेशी नागरिकहरूमा ‘म्यारिज ब्युरो’ खोलेर रकम असुल गरी नेपाली महिलालाई चीन पठाउनेदेखि क्रिस्चियन धर्म प्रचारसम्बन्धी गतिविधिमा संलग्न रहेका व्यक्ति रहेका छन् ।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले भने, “पक्राउ परेकामध्ये केहीलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा बुझाइएको छ भने बाँकी सबैलाई निश्चित अवधि नेपाल प्रवेश निषेध गरेर उनीहरूकै देशमा निस्कासन गरिएको छ ।”
विशेष घटनाहरू: कोरियन मूल अमेरिकी नागरिक योङघो लीलाई १९ माघमा पक्राउ गरिएको थियो । काठमाडौंमा गैरकानुनी म्यारिज ब्युरो सञ्चालन गर्दै आएका चिनियाँ नागरिक चिहाओ लिउलाई ११ पुसमा पक्राउ गरिएको थियो । सोह्रखुट्टेबाट २८ कात्तिकमा ४ चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरूलाई ३ वर्ष नेपाल प्रवेश निषेध गरी प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको थियो । पर्यटक भिसामा क्रिस्चियन धर्म प्रचारमा संलग्न अमेरिकी नागरिकलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।
सन् २०२५ मा विदेशी नागरिक पक्राउ परेर निस्कासन गरिएको संख्या ५०१ थियो। यसअघि २०२४ मा ४०७, २०२३ मा ४५९, २०२२ मा ५७०, २०२१ मा ३०८, २०२० मा ३३२, २०१९ मा ६७१, २०१८ मा ६७८ र २०१७ मा ५५९ जना विदेशी नागरिकलाई निस्कासन गरिएको थियो ।
अध्यागमन विभागले विदेशी नागरिकको निगरानी र यात्रा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन १ जनवरी २०२६ देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ९एफएनएमआईएस० लागू गरेको छ । यो प्रणालीले विदेशी नागरिकले कुन स्थानमा गए, के गतिविधि गरे, र भिसा अवधि पूरा भएरनभएको विवरण सजिलै पहिचान गर्न सहयोग पुर्याउनेछ ।
सिस्टम अन्तर्गत होटल, आन्तरिक उडान, ट्रेकिङ एजेन्सी, टुर एजेन्सी, बैंक, विदेशी मुद्रा सटही केन्द्र, टेलिकम प्रदायक, पर्यटन प्रहरी र अन्य सम्बन्धित संस्था प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था मिलाइएको छ ।