गृहमन्त्री सुधन गुरुङले बारा–पर्सा औद्योगिक करिडोरमा रहेका जगदम्बा स्टिल, हुलास स्टिललगायत विभिन्न उद्योगहरूको स्थलगत अनुगमन गरेका छन् ।
उद्योगबाट फैलिएको प्रदूषण, सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको गुनासो बढ्दै गएपछि गृहमन्त्री सुधन गुरुङ स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दासँगै अनुगमनमा पुगेका हुन् । अनुगमनका क्रममा स्थानीयहरूले उद्योगहरूले वातावरणीय मापदण्डको पालना नगर्दा वायु प्रदूषण बढेको, धुलो, धुवाँ तथा औद्योगिक फोहोरका कारण आसपासका बस्तीका बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर परेको गुनासो गरेका थिए । स्थानीयहरूले प्रदुर्षणले सास्ती खेपेकाे, श्वासप्रश्वाससम्बन्धी रोग, आँखा पोल्ने समस्या तथा अन्य स्वास्थ्य जटिलता बढ्दै गएको बताएका छन् ।
स्थानीयवासीले केही उद्योगले राष्ट्रिय वन क्षेत्र, ऐलानी जग्गा, पुल–पुलेसा आसपासका सार्वजनिक क्षेत्र तथा अन्य सरकारी स्वामित्वका जग्गा अतिक्रमण गरेको समेत आरोप लगाएका छन् । अनुगमनका क्रममा नेपाल रेल्वेको पुरानो मार्ग तथा त्यससँग सम्बन्धित जग्गा समेत उद्योग क्षेत्रभित्र परेको र त्यसको वास्तविक अवस्था छानबिन गर्नुपर्ने माग स्थानीयहरूले उठाएकाे जनाएकाे छ ।
गृहमन्त्री गुरुङले प्राप्त गुनासाे अधारमा सम्बन्धित निकाय मार्फत तथ्यगत अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका छन् । उनले वातावरणीय प्रभाव, सार्वजनिक सम्पत्तिको संरक्षण तथा उद्योगहरूको कानुनी दायित्वका विषयमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने स्पष्ट पारेकाे स्थानीयहरूले बताएका छन् ।
अनुगमनमा सहभागी स्थानीयवासीले उद्योग सञ्चालनका नाममा सार्वजनिक सम्पत्ति अतिक्रमण तथा वातावरणीय प्रभावमा समेत क्षति गरेको विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । साथै उद्योगहरूलाई वातावरणीय मापदण्ड पालना गर्न बाध्य बनाउन र प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।