सिरहामा सशस्त्र प्रहरीले ४९ किलो ७६० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको गस्ती टोलीले शुक्रबार बिहान करिब ३ः२२ बजे औरही गाउँपालिका–४ खजनपुरबाट गाँजासहित मोटरसाइकल बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३२ एम ३०५७ को मोटरसाइकललाई गस्ती टोलीले नियन्त्रणमा लिन खोजेको थियो । प्रहरी टोलीलाई देखेपछि चालकले मोटरसाइकल छाडेर फरार भएका थिए ।
त्यसपछि मोटरसाइकलमा राखिएको बोरा जाँच गर्दा ४९ किलो ७६० ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरी नम्बर ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सुमनजङ्ग थापाले जानकारी दिए । बरामद गाँजा र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।