बाराको कोल्हबी नगरपालिका–५ सखुहवा क्षेत्रबाट वन गस्ती टोलीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठ र पाँचवटा साइकल बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा कोल्हबी सब–डिभिजन वन कार्यालयका अधिकृत कृष्ण पटेलको नेतृत्वमा खटिएको वन टोलीले राति निगरानी गर्ने क्रममा पाँचवटा साइकलमा लोड गरिएको करिब २० क्युफिट सालको काठका पाँच थान गोलिया बरामद गरेको हो ।
वन टोलीलाई देखेपछि काठ ओसारपसारमा संलग्न व्यक्तिहरू काठ र साइकल छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए । डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाका अनुसार बरामद काठ र साइकल नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि सम्बन्धित वन कार्यालयमा राखिएको छ ।
बरामद काठ कुन वन क्षेत्रबाट अवैध रूपमा कटान गरी ल्याइएको हो र त्यसमा को–को संलग्न छन् भन्नेबारे अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय बाराले क्षेत्रमा हुने अवैध रूख कटान तथा काठ तस्करी नियन्त्रणका लागि नियमित गस्ती र सूचनामा आधारित निगरानीलाई थप तीव्र तथा प्रभावकारी बनाइने जनाएको छ ।