पर्साको राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा सालका रुख कटान गरी काठ ओसारपसार भइरहेको अवस्थामा वन गस्ती टोलीले ६ थान सालको गोलियासहित ६ थान साइकल बरामद गरेको छ ।
काठ ओसारपसारमा संलग्न व्यक्तिहरू भने गस्ती टोलीलाई देखेपछि काठ र साइकल छाडेर फरार भएका छन् । बिहीबार राति सब–डिभिजन वन कार्यालय बडनिहारका जम्दार जितबहादुर तामाङको कमान्डमा खटिएको वन गस्ती टोली र विन्दवासिनी कोइलाभार साझेदारी वनको संयुक्त टोलीले बडनिहार प्रहरी चौकी अगाडिबाट काठ र साइकल बरामद गरेको हो ।
वन गस्ती टोलीका अनुसार राष्ट्रिय वन क्षेत्रबाट सालका रुख कटान गरी साइकलमा राखेर काठ ओसारपसार भइरहेको सूचना पाएपछि गस्ती परिचालन गरिएको थियो । सोही क्रममा प्रहरी चौकी अगाडिको क्षेत्रमा काठ बोकेर हिँडिरहेका व्यक्तिहरूलाई देखेपछि टोलीले उनीहरूलाई पछ्याएको थियो । गस्ती टोलीलाई देखेपछि काठ ओसारपसारमा संलग्न व्यक्तिहरूले सालका गोलिया र साइकल त्यहीँ छाडेर फरार भएका थिए। त्यसपछि टोलीले ६ थान सालका गोलिया र काठ ओसारपसारमा प्रयोग भएका ६ थान साइकल नियन्त्रणमा लिएको हो ।
बरामद काठ तथा साइकल आवश्यक कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय बडनिहारमा राखिएको छ । सब–डिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत मुबारक अली गद्दीका अनुसार काठ तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको छ । बरामद काठ कुन वन क्षेत्रबाट कटान गरिएको हो र त्यसमा को–को संलग्न छन् भन्ने विषयमा समेत अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
पर्साको राष्ट्रिय वन क्षेत्रमा अवैध रूपमा सालका रुख कटान गरी रातको समयमा काठ ओसारपसार गर्ने गतिविधि नियन्त्रणका लागि वन गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ । पछिल्लो घटनाले वन क्षेत्रबाट काठ कटान गरी बस्ती तथा मुख्य सडक हुँदै ओसारपसार गर्ने प्रयास भइरहेको संकेत गरेको छ ।