वनबाट चोरी गरी ल्याइएको आशंका गरिएको सालको काठ बाराको कोल्हबीबाट बरामद भएको छ ।
कोल्हबी नगरपालिका–४ लामपोईनी आसपासको झाडीमा लुकाएर राखिएको अवस्थामा वन कर्मचारी र प्रहरीको संयुक्त टोलीले पाँच थान सालका गोलिया बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा परिचालित टोलीले झाडीमा खोजी गर्ने क्रममा काठ फेला पारेको कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलले जानकारी दिए । उनका अनुसार बरामद काठको कुल परिमाण १९ क्युफिट रहेको छ ।
वन कार्यालयका अनुसार काठ ओसारपसारमा संलग्न व्यक्ति वा समूहले तत्कालका लागि काठ झाडीमा लुकाएर राखेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । टोली घटनास्थलमा पुग्दा काठ राख्ने व्यक्ति वा समूह त्यहाँ नभेटिएकाले उनीहरू भागेको हुनसक्ने आशंका गरिएको छ ।
बरामद काठ घटनास्थलबाट उठाएर सवारीसाधनमार्फत कोल्हबी सब–डिभिजन वन कार्यालयमा ल्याइएको छ । कार्यालयका अनुसार बरामद सालको काठको बजार मूल्य करिब ४२ हजार रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ ।
काठ कहाँबाट कटान गरेर ल्याइएको हो र यसमा को–को संलग्न छन् भन्ने विषयमा वन कार्यालयले अनुसन्धान अघि बढाएको जनाएको छ । संलग्न व्यक्तिको पहिचान भएपछि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
डिभिजन वन अधिकृत सुजितकुमार झाले अवैध कटान तथा चोरी–निकासी नियन्त्रणका लागि वन क्षेत्रमा निगरानी र गस्ती बढाइएको बताए । बरामद काठसम्बन्धी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाही अघि बढाइने उनले जानकारी दिए ।