पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ मा कटुवा पेस्तोल र गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
झगडाको सूचना पाएर पुगेको प्रहरी टोलीले स्थानीय ६० वर्षीय बिरेन्द्र यादवलाई हातहतियारसहित नियन्त्रणमा लिएको हो । मंगलबार राति करिब ११ः३० बजे यादव र उनका सहोदर भाई ५५ वर्षीय सिकिन्द्र यादवबीच गहुँ काट्ने विषयमा चौरमा झगडा भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही आधारमा प्रहरी चौकी महुनवबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोलीले झगडा छुट्याउने क्रममा बिरेन्द्र यादवले लगाएको ट्रयाक पाइन्टमा शंका लागी खानतलासी गर्दा, कम्मरमा बाँधिएको बेल्टमा फलामले बनेको कटुवा पेस्तोल एक थान, सो पेस्तोलमा BMM KF 00 लेखिएको लोड गरिएको गोली एक राउण्ड, साथै थप तीन राउण्ड गोली र फलामको चाचर (गोली राख्ने भाँडो) एक थान फेला पारेको हो ।
यादवलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूर अन्तर्गत पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।