निजगढ नगरपालिका–४ मौरी खोलामा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले पाँच जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
२०७९ जेठ ४ गते दिउँसो ४ बजे प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा खटिएको टोलीले शंका लागेका व्यक्तिहरूको शरीर र झोला जाँच गर्दा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो । पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल ५७ पत्ता (५७० ट्याब्लेट) मध्ये ५ पिस सेवन गरिएका र ५६५ पिस बाँकी, एन्टीकोफ लेखिएको ट्याब्लेट ५ पत्ता (५० ट्याब्लेट) मध्ये ७ पिस सेवन गरी ४३ पिस बाँकी तथा डेभोक्सिन–१० लेखिएको ५ पत्ता (५० ट्याब्लेट) मध्ये ४ पिस सेवन गरिएका र ४६ पिस बाँकी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमा मकवानपुर बकैया गाउँपालिका–६ का २५ वर्षीय विजय योञ्जन, बारा निजगढ नगरपालिका–१० का २८ वर्षीय प्रेम वाइबा, २२ वर्षीय धन बहादुर थिङ, ३० वर्षीय ज्ञान बहादुर घलान र २४ वर्षीय अमृत दुलाल रहेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढमा ल्याइएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री