मुलुककै प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनासम्मको राजश्व संकलन लक्ष्यको ८० प्रतिशत पनि पु¥याउन सकेको छैन् । रेड च्यानलमार्फत भन्सार कर्मचारी, एजेन्ट तथा आयातकर्ताबीचकाे चलखेलले राजश्व संकलन लक्षय अनुरूप हुन नसकेकाे जानकारहरू बताउँछन् ।
वाणिज्य आपूर्तिको मुख्य मार्ग मानिने वीरगंज भन्सारको राजश्व अपुग हुँदा मुलुकको समग्र राजश्व लक्ष्य मै प्रभाव पर्न थालेको छ । राजस्व विभागले वीरगंज भन्सारलाई चालु आर्थिक वर्षको १० महिनाका लागि १ खर्ब ७८ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो । तर, भन्सार कार्यालयले साउनदेखि बैशाख मसान्तसम्म जम्मा १ खर्ब ४० अर्ब ४२ करोड १८ लाख मात्रै संकलन गर्न सकेको छ । यो भनेको लक्ष्यकाे ३८ अर्ब १९ करोड ६७ लाख अपुग हो, अर्थात् कुल लक्ष्यको मात्र ७८.६२ प्रतिशत मात्र संकलन गरेकाे हो ।

राजश्व संकलन लक्ष्य अपुग हुनुको प्रमुख कारणको रूपमा भन्सार कार्यप्रणालीमा देखिएको कमजोरी र रेड च्यानलको अत्यधिक प्रयोग रहेको बताइएको छ । भन्सारको बैशाख ३१ गतेको तथ्यांक अनुसार ६९ प्रतिशत आयातित माल रेड च्यानलबाट पास भएको छ भने २६.५६ प्रतिशत यल्लो र ३.८३ प्रतिशत मात्र ग्रीन च्यानल प्रयोग भएको छ ।
रेड च्यानलबाट माल पास हुनु भनेको विस्तृत रूपमा चेकजाँच गर्नु पर्ने प्रक्रियामा जानु हो । तर, जानकारहरूको भनाइमा रेड च्यानलमार्फत भन्सार कर्मचारी, एजेन्ट तथा आयातकर्ताबीच व्यापक चलखेल हुने सम्भावना उच्च हुन्छ । ‘नीतिगत रूपमा कडाई भए पनि मूल्यांकन प्रक्रियामा अझै पनि हेरफेर गर्ने खालका छिद्र छन्,’ वीरगंजका एक अनुभवी आयातकर्ताले भने, ‘यहीँबाट कर्मचारीले स्वेच्छाचारी रूपमा राजश्व घटाउने अवस्था सिर्जना गर्दछ ।’
साथै, पोके तस्कर मार्फत सामान पास गराउने, चोरी पैठारी भएका सामानको न्यून मूल्यांकन हुने, सुरक्षाकर्मीले बरामद गरेका माल समानको राजश्व पूर्ण रूपमा संकलन नभएको लगायतका कारणले पनि वीरगंज भन्सारको राजश्व संकलन प्रभावित भएको स्थानीयको आरोप छ ।
सुख्खा बन्दरगाहको भने प्रगति उल्लेखनीय
वीरगंज भन्सारको छेउ मै रहेको सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले भने अपेक्षाकृत राजश्व संकलन गरेको छ । विभागले दिएको ४९ अर्ब २१ करोड ११ लाख ५१ हजारको लक्ष्यमध्ये १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।
यो कुल लक्ष्यको ८३.६८ प्रतिशत प्रगति हो । अझ ८ अर्ब ३ करोड १३ हजार मात्र बाँकी रहेको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो भन्सारले १ अर्ब १४ करोड २८ लाख बढी राजस्व संकलन गरेको पाइएको छ ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले कच्चा पदार्थको आयातमा भएको सुधार र आन्तरिक कार्यशैलीको चुस्तता राजश्व वृद्धि हुनुको मुख्य कारण भएको बताए ।
भिडियाे सामाग्री