वैदेशिक रोजगारीमै रहेका युवाहरुले आफ्नो गाउँ समाजमा रचनात्मक विकासका लागि एकजुट हुँदै ‘युवा एकता समाज’ नामक संस्था स्थापना गरेका छन् । धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बपुरमा एक कार्यक्रमको आयोजना गरी संस्थाको औपचारिक उद्घाटन गरिएको हो ।
स्थानीय दलित, अति विपन्न, लक्षित वर्ग तथा पछाडि पारिएका समुदायको जीवनस्तर उकास्ने उद्देश्यले गठित ‘युवा एकता समाज’ को अध्यक्ष अजितकुमार महतोले नेतृत्व गरेका छन् । सो कार्यक्रममा नगर प्रमुख सुखदेव यादवले युवाहरुको प्रयासलाई प्रशंसनीय भन्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाको सक्रियता अपरिहार्य रहेको बताए ।
उक्त कार्यक्रममा उपमेयर रचना माथेमा, वडा अध्यक्ष मोदकुमार महतो, समाजसेवी रामसिठ महतो, वृजभुषण कुशवाहालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रामनारायण लाल कर्णले गरेका थिए ।
कतार र मलेसियामा रोजगारीमा रहेका युवाहरुले विगत चार वर्षदेखि गाउँका दलित, विपन्न तथा पीडित वर्गको जीवनस्तर उकास्न विभिन्न माध्यमबाट सहयोग गर्दै आएका थिएb । उनीहरुले मासिक आम्दानीको २५ प्रतिशत रकम बचत गर्दै झण्डै २५ लाख रुपैयाँ जम्मा गरेका छन् ।
अध्यक्ष महतोका अनुसार उक्त रकम अब सामाजिक विकासका काममा खर्च गरिनेछ । संस्थाले गाउँमै युवाहरुको सहभागिता बढाउँदै दीगो विकासका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
स्थानीय तहसँग सहकार्य गर्दै युवाहरुले देश बाहिर कमाएको श्रम र आम्दानीलाई अब आफ्नै गाउँको सामाजिक रूपान्तरणमा लगानी गर्ने कदमले ‘वैदेशिक रोजगारी’ लाई नयाँ अर्थ दिइरहेको छ ।