बाराको कलैयास्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा सूचना लुकाइएको खुलेको छ । कार्यालयका सूचना अधिकारी पंकज महतोले जनहितका सूचना दिन नमानेको आरोप लागेको हो । महतोले आफूलाई कार्यालयले 'बिना मतलब' सूचना अधिकारी बनाएको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको पाइएको छ ।
महतो ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयअन्तर्गतको उक्त कार्यालयमा सब-इन्जिनियर (अधिकृत छैठौं) पदमा कार्यरत छन् । उनले सूचना अधिकारीका लागि सातौं तहको अधिकृत आवश्यक पर्ने जिकिर गर्दै आफूलाई तत्कालीन कार्यालय प्रमुखले जबर्जस्ती फसाएको आरोप लगाएका छन् । सूचना माग गर्न कार्यालयमा पुगेका पत्रकार तथा सेवाग्राहीहरूलाई महतोले ‘पहिला निवेदन ल्याउनुहोस्’, ‘कार्यालय प्रमुखको आदेश चाहिन्छ’ भन्ने जस्ता बहानाबाजी गर्दै सूचना दिन आलटाल गरेको पाइएको छ । कार्यालय स्रोतका अनुसार जिल्लामा सञ्चालित योजना तथा बजेटको विवरण लुकाउने र योजनामा ‘सेटिङ’ मिलाएर कमिशन बाँडफाँड गर्ने कार्यमा महतो संलग्न रहेको आशंका गरिएको छ । स्रोतका अनुसार पत्रकार वा सरोकारवाला नागरिकले सूचना माग गर्दा योजनाको सेटिङ भत्किने र कमिशनको आम्दानी प्रभावित हुने डरले महतोले सूचना लुकाउँदै आएका हुन् ।
तर, महतोले भने आफू कुनै प्रकारको सेटिङमा नलागेको दाबी गरेका छन्। उनले मन्त्रालयबाट आएको पत्र सम्बन्धित वडा कार्यालयमा पठाउने, त्यहाँबाट उपभोक्ता समिति बनेपछि मात्र काम अगाडि बढाउने प्रक्रिया अपनाएको बताएका छन् ।
सार्वजनिक निकायमा सूचना माग्दा यस्ता अड्चन आउने क्रम जारी रहेको अवस्थामा सूचना अधिकारीबाटै जनताले जानकारी पाउन नसक्नुले सुशासनमा प्रश्न उठाएको छ ।