देशभर मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी फाट्टफुट देखिन थालेका छन् ।
रुघाखोकी, ज्वरो, फ्लु जस्ता लक्षण भएका संक्रमितहरू अस्पतालमा आउने क्रम बढेको चिकित्सकहरूले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार नेपाल–भारत सीमाक्षेत्र विशेष गरी कञ्चनपुर नाकाबाट आउने केही व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यद्यपि अघिल्लो समयको तुलनामा संक्रमण दर घट्दो क्रममा रहेको उनले बताए ।
उनका अनुसार पुस १७ गते यतादेखि हालसम्म देशभर १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो सात दिनमा ३० जना र पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १२९ जनामा संक्रमण देखिएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा ५ र कोशी, गण्डकी तथा लुम्बिनी प्रदेशमा समान ३–३ जना संक्रमित भेटिएका छन् ।
डा. झाका अनुसार सीमा नाकामा परीक्षणका लागि हालसम्म ६४० थान एन्टिजेन किट पठाइसकिएको छ । थप संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अन्य एन्टिजेन किट खरिद प्रक्रिया पनि अघि बढाइएको जानकारी उनले दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अहिले अस्पतालमा कोरोना जस्ता लक्षण भएका बिरामी आउन थालेको बताए । “मौसममा आएको परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरोका बिरामी देखिन थालेका छन्,” उनले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा देखिएको कोरोना संक्रमणको असर नेपालमा पनि देखिएको बताए । “भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट बिरामी देखिएका हुन्,” उनले भने, “मौसम परिवर्तनसँगै फ्लुका बिरामी समेत बढेका छन् ।”
उनले कोरोना विरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।