जबरजस्ती करणीसम्बन्धी मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्दा बदनियतपूर्वक गलत प्रतिवेदन तयार गर्ने चिकित्सकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्न सकिने न्यायिक सिद्धान्त स्थापित भएको छ ।
सर्वोच्च अदालतले चिकित्सकीय रायमा हुने सामान्य मतभिन्नता र बदनियतपूर्वक गलत स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गर्ने कार्य फरक विषय भएको स्पष्ट पार्दै जानाजानी गलत प्रतिवेदन तयार गरेको अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही गर्न सकिने ठहर गरेको हो ।
जनकपुरधाममा एक नाबालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनसँग सम्बन्धित मुद्दामा चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई दोषी ठहर गरिएको छ । सर्वोच्च अदालतले विशेष अदालतको फैसलामा केही उल्टी गर्दै दुवै चिकित्सकलाई जनही तीन महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
के थियो घटना ?
चिकित्सकद्वय डा. सिंह र डा. गोइतले २०७५ भदौ १९ गते जबरजस्ती करणीको आरोप लागेकी एक नाबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणका क्रममा देखिएका वास्तविक अवस्था उल्लेख नगरी अवास्तविक तथा गलत विवरणसहित प्रतिवेदन तयार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (२) अनुसार मुद्दा दायर गरेको थियो ।
विशेष अदालत काठमाडौंले २०७६ पुस १ गते दुवै चिकित्सकलाई दोषी ठहर गर्दै जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध चिकित्सकद्वयले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
पुनरावेदनका क्रममा चिकित्सकहरूले आफूहरूले बदनियतपूर्वक तथ्य लुकाएर गलत प्रतिवेदन नदिएको जिकिर गरेका थिए । परीक्षणका क्रममा कन्याजाली पुरानो च्यातिएको देखिए पनि कोतारिएको, सुन्निएको, रक्तस्राव भएको वा रातो डाम देखिएको नपाइएकाले सामान्य अवस्था उल्लेख गरेको उनीहरूको तर्क थियो ।
त्यस्तै, आफूहरू मेडिको–लिगल परीक्षणसम्बन्धी विशेष तालिमप्राप्त विशेषज्ञ नभएको र सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावका कारण परीक्षण गर्नुपरेको भन्दै प्राविधिक तथा व्यावसायिक कमजोरीलाई भ्रष्टाचारको कसुर मान्न नमिल्ने दाबी गरेका थिए ।
चिकित्सकीय राय भन्दै उन्मुक्ति नपाइने
सर्वोच्च अदालतले चिकित्सकीय रायमा सामान्य मतभिन्नता हुन सक्ने भए पनि बदनियतपूर्वक गलत प्रतिवेदन तयार गर्ने कार्यलाई सामान्य प्राविधिक त्रुटिका रूपमा लिन नमिल्ने व्याख्या गरेको छ ।
सरकारी निकायको कामको सिलसिलामा परीक्षण तथा जाँचबुझ गरी सम्बन्धित निकायमा पेस गरिने चिकित्सकीय निष्कर्षसहितको दस्ताबेजलाई प्रतिवेदनकै रूपमा लिनुपर्ने अदालतको ठहर छ ।
जबरजस्ती करणीसम्बन्धी मुद्दामा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन अनुसन्धान र न्यायिक प्रक्रियाका लागि महत्वपूर्ण प्रमाण हुने भएकाले चिकित्सकले परीक्षणबाट प्राप्त तथ्य तथा निष्कर्षलाई वस्तुनिष्ठ रूपमा अभिलेख गर्नुपर्ने अदालतले स्पष्ट पारेको छ ।
प्रतिवेदनमा वास्तविक अवस्था लुकाइएको वा जानाजानी गलत विवरण समावेश गरिएको पुष्टि भएमा चिकित्सकीय व्यावसायिक स्वतन्त्रताको आधारमा उन्मुक्ति पाउन नसकिने अदालतको व्याख्या छ ।
बदनियत प्रमाणित भए फौजदारी दायित्व
यस मुद्दामा चिकित्सकको व्यावसायिक स्वतन्त्रता र कानुनी उत्तरदायित्वको सीमाबारे समेत महत्वपूर्ण व्याख्या गरिएको छ।
चिकित्सकीय निर्णयमा हुने प्रत्येक त्रुटि वा रायमा देखिने भिन्नतालाई भ्रष्टाचारको कसुर मान्न नमिल्ने भए पनि जानाजानी गलत प्रतिवेदन तयार गर्ने कार्य फौजदारी दायित्वको विषय बन्न सक्ने अदालतको दृष्टिकोण छ ।
अभियोजन पक्षले नेपाल मेडिकल काउन्सिलको छानबिन प्रतिवेदनलाई आधार बनाउँदै चिकित्सकहरूले परीक्षणका क्रममा अपनाउनुपर्ने संवेदनशीलता र न्यूनतम प्रक्रिया पालना नगरेको तथा प्रतिवेदन ११ दिनसम्म अनुसन्धान अधिकारीलाई नपठाएको विषयलाई बदनियतको आधारका रूपमा प्रस्तुत गरेको थियो ।
नेपाल मेडिकल काउन्सिलको आचारसंहिता, २०१७ ले पनि चिकित्सकलाई तथ्यगत शुद्धता, व्यावसायिक इमानदारिता र गलत प्रमाणपत्र जारी नगर्ने दायित्व तोकेको छ ।
कन्याजाली परीक्षणबारे अदालतको निर्देशन
फैसलाको अर्को महत्वपूर्ण पक्ष यौनजन्य अपराधका पीडितको स्वास्थ्य परीक्षणका क्रममा कन्याजाली (हाइमन) परीक्षणको औचित्य र आवश्यकतासम्बन्धी निर्देशन हो ।
अदालतले कन्याजालीको अवस्था मात्रका आधारमा यौनसम्पर्क भएको वा नभएको तथा जबरजस्ती करणी भएको वा नभएको निष्कर्ष निकाल्न नसकिने चिकित्सकीय मान्यतालाई महत्व दिएको छ।
विवाहित वा नियमित यौनसम्पर्क गर्ने महिलाको हकमा अनावश्यक कन्याजाली परीक्षण नगर्नुपर्ने विषयमा समेत अदालतले स्पष्ट पारेको छ । यौनजन्य हिंसाका पीडितको स्वास्थ्य परीक्षण गर्दा अनावश्यक परीक्षणबाट उनीहरूको शारीरिक तथा मानसिक गरिमामा असर पर्न नदिनुपर्नेमा जोड दिइएको छ।
त्यस्तै, पीडितको सूचित सहमति, चिकित्सकीय मर्यादा र वैज्ञानिक परीक्षण विधि अवलम्बन गर्नुपर्ने निर्देशनसमेत दिइएको छ ।
मेडिको–लिगल प्रणाली सुधार्न निर्देशनात्मक आदेश
सर्वोच्च अदालतले मेडिको–लिगल परीक्षण प्रणालीलाई थप व्यवस्थित, वैज्ञानिक र विश्वसनीय बनाउन सम्बन्धित निकायलाई निर्देशनात्मक आदेशसमेत दिएको छ ।
यौनजन्य अपराधका पीडितको स्वास्थ्य परीक्षण, प्रमाण सङ्कलन, अभिलेखीकरण, प्रतिवेदन तयारी, प्रमाण संरक्षण तथा अदालतमा विशेषज्ञ साक्षी प्रस्तुत गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन स्पष्ट कार्यविधि, निर्देशिका तथा प्रोटोकल तयार गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
त्यसैगरी, चिकित्सकलाई मेडिको–लिगल परीक्षणसम्बन्धी आवश्यक तालिम र दक्षता उपलब्ध गराउने, परीक्षणका क्रममा पीडितको अधिकार तथा गरिमा संरक्षण गर्ने र प्रतिवेदनको वैज्ञानिक विश्वसनीयता कायम गर्ने विषयमा पनि सुधार गर्न अदालतले जोड दिएको छ ।
सर्वोच्च अदालतको यस फैसलाले चिकित्सकको व्यावसायिक स्वतन्त्रता सुरक्षित रहनुपर्ने भए पनि त्यसको आडमा बदनियतपूर्वक गलत स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गर्ने कार्यले कानुनी उन्मुक्ति नपाउने स्पष्ट सन्देश दिएको छ । साथै, यौनजन्य हिंसाका पीडितले न्याय प्राप्त गर्ने प्रक्रियामा चिकित्सकीय प्रमाणको विश्वसनीयता कायम राख्नुपर्ने आवश्यकतालाई समेत उजागर गरेको छ ।