पर्साको पटेर्वा सुगौली गाउँपालिकास्थित आधारभूत अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १८७ जना सेवाग्राही लाभान्वित भएका छन् ।
२०८३ मंसिर १२ गते शनिबार आयोजित शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए ।
शिविरमा फिजिसियन तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. अनुपम उपाध्याय, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सतिश कुमार राय, हाडजोर्नी विशेषज्ञ डा. राजु गुप्ता र युरोलोजिस्ट डा. कासिम अन्सारीले सेवा दिएका थिए ।
शिविरमा आएका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको थियो । त्यस्तै, सेवाग्राहीहरूको निःशुल्क सुगर परीक्षण तथा दमसम्बन्धी परीक्षणसमेत गरिएको आयोजकले जनाएको छ ।
थारु फर्मा मार्केटिङ, वीरगंजको आयोजनामा सम्पन्न शिविरमा युवा नेता तथा समाजसेवी मुकेश गौरोले सह-आयोजकको भूमिका निर्वाह गरेका थिए । शिविरबारे जानकारी दिँदै थारु फर्मा मार्केटिङका वरिष्ठ उपाध्यक्ष चन्द्रशेखर पञ्जियारले शिविरमार्फत १८७ जनाले स्वास्थ्य सेवा लिएको बताउनुभयो ।
शिविर सञ्चालनका लागि पटेर्वा सुगौली गाउँपालिकाले आधारभूत अस्पतालको भवन उपलब्ध गराउनुका साथै सेवा प्रदान गर्न आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा मार्केटिङ टोलीका लागि खाना तथा नास्ताको व्यवस्थासमेत गरेको थियो ।
कार्यक्रमको सुरुवातमा चिकित्सकहरूलाई खादा तथा टीका लगाएर स्वागत गरिएको थियो । शिविर सम्पन्न भएपछि सेवा प्रदान गर्ने चिकित्सकहरूलाई प्रमाणपत्र वितरण गरी सम्मानसमेत गरिएको थियो ।
स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)