पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाको १५ औं गाउँसभा गाउँपालिकाको सभाहलमा एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४७ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कार्यक्रममा उपाध्यक्ष शर्मिला बिस्ट महतोले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, व्यावसायिक कृषि, सम्भावनायुक्त पर्यटन, र दिगो पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको जानकारी दिइन् ।

नीति तथा कार्यक्रमका मुख्य अंशहरू:
- एक गाउँ, एक उद्यम अभियानलाई उच्च प्राथमिकता दिइनेछ, जसले स्थानिय रोजगारी सृजना र आर्थिक आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ ।
- विद्यालयहरूको अनुगमन गरी भौतिक पूर्वाधारको व्यवस्था र प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिइनेछ ।
- आधारभूत अस्पतालहरूको स्तरोन्नति, स्वास्थ्य बीमाको प्रोत्साहन, नियमित स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
- कृषि क्षेत्रमा ट्रान्सफार्मर र पोलको व्यवस्था, सिँचाइ सुविधा विस्तार, कोल्ड स्टोर निर्माण र आधुनिक कृषि बजारको स्थापना गरिनेछ ।
- एक घर, एक रुख कार्यक्रम, पशु बीमा र अर्गानिक खेती प्रवर्द्धन गर्दै हरित विकासलाई प्राथमिकता दिइनेछ ।
- भौतिक पूर्वाधारमा कालोपत्रे सडक, ड्रेनेज र नाला निर्माण, सार्वजनिक भवनको स्तरोन्नति र ग्रामीण यातायात सञ्जाल विस्तारको योजना छ ।

आगामी वर्षको नीति, कार्यक्रम र बजेटले सखुवा प्रसौनी गाउँपालिकालाई समावेशी, स्वावलम्बी र दिगो विकासतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ । कार्यक्रममा ६ वटै वडाका अध्यक्षहरू, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, समाजसेवी, शिक्षक, महिला प्रतिनिधि तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख विनोद यादवले गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुसवाहाले स्वागत मन्तव्य दिँदै सहभागी सबैप्रति आभार प्रकट गरे । गाउँसभा सर्वसम्मत रूपमा पारित गरिएको छ भने, सहभागीले प्रस्तुत कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
अध्यक्ष यादवले जनप्रतिनिधिहरूको सक्रिय सहभागिता र जनताको सुझाव अनुसार गाउँसभाबाट पारित बजेटलाई यथार्थमा परिणत गर्ने प्रतिबद्धता जनाए ।