जनकपुरधाम | मधेश प्रदेश प्रहरी कार्यालयले आफ्नो प्रशासनिक कामकाज नयाँ अत्याधुनिक भवनबाट सञ्चालन गर्ने तयारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ मा निर्माण भएको उक्त नयाँ भवनको उद्घाटन आगामी साउन ३० गते हुने छ ।
प्रशासनिक भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आउने कार्यक्रम तय भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
नयाँ भवनले प्रहरी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसले प्रहरी कर्मचारीहरूलाई सहज र सुविधाजनक कार्य वातावरण प्रदान गर्नेछ भने सेवाग्राहीहरूलाई पनि छिटो र गुणस्तरीय सेवा लिन सहजता हुनेछ ।
यसअघि प्रदेश प्रहरी कार्यालय पुरानो र साँघुरो भवनमा कार्यरत थियो, जसले प्रशासनिक काममा कठिनाइ उत्पन्न गर्दै आएको थियो । नयाँ भवन सञ्चालनमा आएसँगै प्रहरीको कार्यक्षमता वृद्धि हुने र जनतामा छरितो सेवा प्रवाहमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।