सिरहा | सिरहा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गर्दै कुल ६२ दशमलव २३ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको छ । अदालतद्वारा सार्वजनिक वार्षिक प्रगति विवरणअनुसार सो अवधिमा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका कुल ९,१९१ मुद्दामध्ये ५,७२० मुद्दा फर्छ्यौट भएका छन् भने ३,४७१ मुद्दा अझै बाँकी छन् ।
मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीका अनुसार, जिम्मेवारी सरेर आएका ४,११२ मुद्दामध्ये ३,११० र नयाँ दर्ता भएका ४,९७९ मुद्दामध्ये २,४१० मुद्दा फर्छ्यौट गरिएको हो । उहाँका अनुसार अघिल्ला आर्थिक वर्ष २०८०/८१ मा अदालतले ५० दशमलव ८६ प्रतिशत र २०७९/८० मा ४८ दशमलव २ प्रतिशत मुद्दा फर्छ्यौट गरेको थियो ।
न्यायाधीश उप्रेतीले भने, “वर्षौँ पुराना मुद्दा फर्छ्यौट गर्न सफल भएपछि कार्य प्रगतिमा स्पष्ट सुधार देखिएको छ । काठमाडौँपछि कार्य प्रगतिमा दोस्रो कमजोर स्थानमा रहेको सिरहा अदालतको अवस्था अब उल्लेखनीय रूपमा सुधारिएको छ ।”
उक्त सुधारका पछाडि अदालतका कर्मचारीहरूको लगनशीलता, जिल्ला बारको निरन्तर सहयोग, स्वचालित पेसी प्रणाली, फरक मुद्दा व्यवस्थापन, अभिलेख मिसिल ‘स्क्यानिङ’ र समूहगत कार्यशैली प्रमुख कारण रहेको उनले बताए ।