पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, कटेया गाउँका दुई घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको निर्देशनमा खटिएको प्रहरीसहितको संयुक्त अनुगमन टोलीले बुधबार मध्यरातमा साह महमद अन्सारी र युनुस अन्सारीका घरमा छापा मारेर १९१ बोरा मल बरामद गरेको हो ।
प्रजिअ अर्यालका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत किसानलाई वितरण गर्न पठाइएको मल महँगो मूल्यमा बिक्रीका लागि अवैध रूपमा भण्डारण गरिएको सूचनाका आधारमा अनुगमन टोली खटाइएको थियो ।
कटेयाका साह महमद अन्सारीको घरमा छापा मार्दा ९ बोरा डिएपी, १८ बोरा पोटास र ११४ बोरा फस्फेट मल बरामद भएको प्रजिअ अर्यालले बताए । त्यस्तै, युनुस अन्सारीको घरमा २७ बोरा डिएपी र २३ बोरा पोटास मल फेला परेको उनले जानकारी दिए ।
दुवै घरबाट बरामद १९१ बोरा मल जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। घरधनीहरू भने फरार रहेका र खोजी भइरहेको मिश्रको भनाइ छ ।
पर्सामा अहिले धानबालीका लागि मलको चरम अभाव भएको किसानहरूले गुनासो गर्दै आएका छन् । नेपाल सरकारले आयात गरेको मल पर्याप्त नभएकाले किसानलाई वितरणका लागि पठाइएको अनुदानको मल पनि लक्ष्यित समूहसम्म पुग्न सकेको छैन । मल वितरणमा देखिएको अनियमितता र कालोबजारीको उजुरीपछि प्रजिअ अर्यालले हालै मल वितरक सहकारी संस्था, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखलाई बोलाएर वितरण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका थिए ।
अनुगमन टोलीलाई मल वितरण प्रक्रिया निगरानीका लागि बुधबारदेखि खटाइएको थियो, जसको क्रममा कटेया गाउँका दुई घरबाट ठूलो परिमाणमा मल बरामद भएको हो ।
भिडियाे सामाग्री