कास्की | लमजुङ जिल्ला अस्पतालको विस्तारित सेवा उद्घाटन कार्यक्रम अन्तिम तयारी चरणमा रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो ।
तर, अन्तिम समयमा प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गरिदिँदा उद्घाटन कार्यक्रम नै रद्द भएको आरोप लागेको छ । कार्यक्रमका लागि शुक्रबार पोखरा पुग्नुभएका प्रचण्ड अन्ततः काठमाडौँ फर्किनु परेको छ । बेसीशहरस्थित प्रदेश अस्पतालमा सञ्चालन हुने टेलिमेडिसिन र ल्याप्रोस्कोपिक सेवा उद्घाटन कार्यक्रम रोकिएको हो । खारेजीमा परेका समितिका अध्यक्ष हरिजंग तामाङले राजनीतिक पूर्वाग्रहका कारण कार्यक्रम रोकिएको आरोप लगाएका छन् ।
तामाङले भने, “कार्यक्रमको तयारी सकिएको थियो। समिति खारेज भएपनि औपचारिक पत्र अझै आएको छैन । क्याबिनेट बैठकको निर्णय अघि नै स्वास्थ्यमन्त्रीले फोन गरेर समिति खारेज भयो र कार्यक्रम नगर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीसँग धेरै आग्रह गरेपनि चासो दिइएन ।” उनी थप्छन्, “खारेज भएको समितिले कार्यक्रम नगर्नु भनेर जवाफ पठायो। यस घटनाले धेरै दुख दिएको छ ।”
यसैबिच प्रचण्डले काठमाडौँ पुगेर नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिको नवनिर्मित भवन उद्घाटन भर्चुअल माध्यमबाट गर्नुभएको छ। प्रचण्डले राजनीतिक कारणले स्वयं उपस्थित हुन नसकेको उल्लेख गर्नुभएको छ ।
तामाङका अनुसार, “हिजोसम्म कार्यक्रम हुने आशामा थिएँ। तर बारम्बार फोन आएर कार्यक्रम रोक्नुस् मात्र भनियो। अब औपचारिक रूपमा रद्द भएको जानकारी सार्वजनिक गर्नु परेको छ ।”
प्रचण्डको कार्यसूची अनुसार पोखराको कार्यक्रम सकेर उहाँ शुक्रबार लमजुङ जाने तय थियो ।
भिडियाे सामाग्री