जनकपुरधाम | मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण हुने भएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा रु ७५ करोडको लागतमा भूकम्प प्रतिरोधात्मक, सुविधा सम्पन्न भवन निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।
विश्व बैंकको ऋण सहयोगमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोरको कार्यालय बर्दिबासले उक्त २५ पालिकामा भवन निर्माण गर्दै आएको छ । आयोजना कार्यालयका अनुसार एक भवन निर्माणमा करिब रु तीन करोडदेखि रु पाँच करोड खर्च हुने अनुमान गरिएको छ ।
कृषि तथा पशुपक्षी केन्द्रको उद्देश्य
- कृषिको माटो परीक्षण
- पशु रोगसम्बन्धी अनुसन्धान
- विभिन्न पशु रोगको उपचार
- गोबर तथा दूधजन्य पदार्थको परीक्षण
उक्त केन्द्रहरू अत्याधुनिक उपकरणसहितको ल्याबमार्फत सेवा प्रदान गर्ने योजना रहेको कार्यालय प्रमुख राजेश साहले जानकारी दिनुभयो । सबै भवनको डिजाइन समान र प्रविधियुक्त हुने बताइएको छ ।
निर्माण भइरहेका दुई तले भवनमा कृषि तथा पशुपक्षीका लागि अलग-अलग उपचार कार्यकक्ष, प्रयोगशाला, साथै औषधि बिक्री कक्षका लागि दुई वटा सटरसमेत हुने योजना छ । २५ पालिकामध्ये १४ वटामा निर्माण कार्य सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
यसै क्रममा जनकपुरधाम उपमहानगरपालिका–१७, तेतरियामा सो आयोजनाद्वारा निर्माण गरिएको सुविधा सम्पन्न भवन उपमहानगर प्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको छ । उक्त भवन भ्याटसहित रु दुई करोड २५ लाखमा निर्माण भएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो ।
भिडियाे सामाग्री