बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८१/०८२ मा एक सय ८४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये असार मसान्तसम्म ९० मुद्दाको टुंगो लागेको छ भने बाँकी मुद्दा प्रक्रियामा रहेका छन् ।
समितिको प्रतिवेदनअनुसार दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै जग्गासम्बन्धी रहेका छन्। उक्त अवधिमा ६५ वटा जग्गा विवाद दर्ता भएको छ । त्यस्तै, लेनदेनका ४३, हकभोग तथा अंशसम्बन्धी १२, घरबहाल ७, बैना ७, बाटो–नाला ११, निर्माण कार्य रोक्का १०, घर खाली ४, घरेलु हिंसा ३, बाली नोक्सानी ३, पालनपोषण तथा रेखदेख ३, ज्याला मजदुरी २, पति–पत्नीबीचको विवाद २, असुल–उपर २, सिफारिस ३, थप सिफारिस ४, कुटपिट १, अवैध संरचना १ र फोहरमैला व्यवस्थापन १ मुद्दा दर्ता भएका छन् ।
दर्ता मुद्दामध्ये ४७ वटा मिलापत्रमार्फत टुंग्याइएको छ भने ८ वटा मुद्दा मिलापत्र हुन नसकेर अन्यत्र प्रक्रियामा पुगेका छन् । यस्तै, २२ मुद्दामा फैसला भइसकेको, ४ वटा तामेलमा राखिएको, ५ खारेज भएको, ४ फिर्ता भएको र ९४ मुद्दा अझै कारबाही प्रक्रियामा रहेको प्रतिवेदनमा उल्लेख छ ।
न्याय कानुन शाखाका अधिकृत छैठौं कुलदिप कुमार रायका अनुसार एउटा मुद्दा टुंगोमा पुग्न कम्तीमा एक महिना लाग्ने अनुभव समितिले गरेको छ ।
यसैबीच, चालू आर्थिक वर्ष २०८२/०८३ सुरु भएसँगै हालसम्म ६ वटा नयाँ मुद्दा दर्ता भइसकेका छन् र ती कानुनी प्रक्रिया अनुसार अगाडि बढाइरहेको उपमहानगरपालिकाले जनाएको छ ।