वीरगंज । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले चालु आवको सो अवधिसम्म कार्यालयलाई ४३ अर्ब तीन करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । सो लक्ष्यअनुसार वीरगञ्ज भन्सार कार्यालयले ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको हो ।
भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताउनुभयो । उहाँका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने भदौ महिनामा २० अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
भदौ महिनामा विभिन्न दिनमा उल्लेखनीय राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । भदौ १२ गते मात्र २ अर्ब ३७ करोड, भदौ १७ गते १ अर्ब ९२ करोड, भदौ २८ गते १ अर्ब ७१ करोड र भदौ ३१ गते १ अर्ब ११ करोड राजस्व सङ्कलन भएको हो ।
यसैगरी, भदौ २४ गते जेनजीको प्रदर्शनका दिनमा ३ करोड, भदौ २६ गते ६ करोड र भदौ २७ गते ११ करोड राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।