जेनजी आन्दोलनपछि पनि वीरगंज महानगरपालिकाले पुरानै हैकमबादी शैली दोहोर्याएको भन्दै वडा अध्यक्षहरुले आपत्ति जनाएका छन् ।
मेयर राजेशमान सिंहले बोलाएको विशेष अधिवेशनले नगर र वडाको सम्पूर्ण विकास बजेट कटौती गरेर नयाँ गाडी खरिद गर्ने निर्णय गरेपछि विवाद चुलिएको हो । विशेष अधिवेशनमा सहभागी वडा अध्यक्षहरुले जनताको आधारभूत आवश्यकता सम्बोधन गर्ने योजनामा बजेट कटौती गरेर कार्यालय सञ्चालनका नाममा गाडी खरिद गर्नु उचित नभएको बताएका थिए ।
वडा नं। २० का अध्यक्ष रामकिशोर सिंह परागले १ सय २० करोडको विकास योजनामध्ये वडास्तरीय ३४ करोड मात्रै छ, त्यसलाई समेत काटेर गाडी खरिद लगायतमा खर्चिनु जनतामाथि अन्याय भएको बताएका थिए ।
जेनजी आन्दोलनका क्रममा महानगरपालिकाका गाडी, कार्यालय तथा कार्यालयका फाइल तथा कागजातहरूमा क्षति पुगेपछि बोर्ड बैठकले तत्काल भाडाका गाडी प्रयोग गर्ने र संघीय सरकारसँग सहयोग माग्ने निर्णय गरेको थियो । तर, विशेष अधिवेशनमा विकास निर्माणको बजेट कटौती गरी गाडी खरिद गर्ने प्रस्ताव पारित गरिनु दुःखद रहेको भन्दै वडा सदस्य, नगर सभा सदस्य तथा वडा अध्यक्षहरु आक्रोशित बनेका हुन् ।
जेनजी आन्दोलनपछि जनताले सुधार र पारदर्शिताको अपेक्षा गरेका बेला वीरगंज महानगरमा भएको यो विवादले स्थानीय शासनप्रति प्रश्न उठाएको छ । मेयर सिंहले निर्णयलाई आवश्यक भन्दै अघि बढाए पनि वडा सदस्य, नगर सभा सदस्य तथा वडा अध्यक्षहरूले जनताको प्राथमिकतालाई उपेक्षा गरिएको भन्दै विरोध जनाएका थिए ।
अध्यक्षहरुले ३ वर्षयता बोर्ड बैठकमा हुने निर्णय र माइनुटमा देखाइने निर्णयबीच जथाभावि विभिन्न निर्णय थप्ने विसंगति रहँदै आएको आरोप समेत लगाएका थिए । उनीहरुले महानगरले क्षतिको विवरणसमेत ढिलाइ गरेर प्रस्तुत गरेको र वास्तविकताभन्दा बढी ९१ अर्ब १५ करोड क्षति देखाइएको दाबी गरेका छन्।
मेयर सिंहले विशेष अधिवेशन आफैंले बोलाउने अधिकार भएको र यो निर्णय महानगरको तत्काल व्यवस्थापनका लागि आवश्यक भएको बताए । “जनताले मत दिएर यहाँसम्म पुर्याएका छन् । अहिले कार्यालय र सेवामा क्षति भएको अवस्थामा सबै मिलेर अघि बढ्नुपर्छ,” उनले भने । सिंहले मुर्लीका जेनजी कार्यकर्ता अवसाब आलमको परिवारलाई राहतस्वरूप ५ लाख दिने निर्णय सुनाएका थिए ।
वडा अध्यक्षहरुले विकास बजेट कटौती गर्नु जनताको सेवा रोक्ने कार्य भएको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका थिए । जेनजी आन्दोलनले स्थानीय तहलाई सुधार र पारदर्शिताको मौका दिएको छ, तर मेयर सिंहले आफ्ना सुखसुविधा प्राथमिकतामा राखेर त्यो अवसर गुमाइरहेको वडा सदस्य, नगर सभा सदस्य तथा वडाअध्यक्षरूको दाबि थियो ।
वडा अध्यक्षहरुले विगतमा पनि ५ मिनेटमै नगरसभा सकाउने, छलफल नगरी निर्णय सुनाउने, बजेट वितरणमा असमानता गर्ने जस्ता अभ्यासले जनतामुखी शासन प्रणाली कमजोर भएको गुनासो गरेका थिए ।
विकास बजेट कटौती हुँदा सडक, खानेपानी, सरसफाइ, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित साना योजना तत्कालै प्रभावित हुने वडा अध्यक्षहरुको भनाइ छ । स्थानीय नागरिकहरुले पनि बजेट कटौती गरेर गाडी खरिद गर्नु जनताप्रति अन्याय भएको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् ।
भिडियाे सामाग्रीहरू