नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । एक दिनमै तोलामा १ हजार ३ सय रुपैयाँले बढ्दै सुनको मूल्य नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको छ । यसअघि मंगलबार तोलामा २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै बुधबार छापावाल सुन १० ग्रामको मूल्य १ लाख ९१ हजार १८५ रुपैयाँ कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर २ हजार ७०० रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।
सुन र चाँदी दुवैको मूल्य निरन्तर बढिरहेको अवस्थामा नेपाली बजारमा नयाँ रेकर्डहरू कायम भइरहेका छन् ।