बारा । पर्सा–वीरगंजको गणेश अपार्टमेन्ट कोठा नं ३०३ बाट बरामद २५ किलो ३८३ ग्राम सुनको मुद्दा पुनः चर्चामा आएको छ । तत्कालीन बजार मूल्य करिब १८ करोड ६३ लाख ८७ हजार रुपियाँ रहेको उक्त सुन बरामदको घटनामा संलग्न भारतीय नागरिक अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध उच्च अदालत जनकपुर, अस्थायी इजलास बबरगन्जमा २०७८ जेठ १३ गते मुद्दा दायर गरिएको थियो ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले बाबुछोरीविरुद्ध राजस्व चुहावट ऐन २०५२ बमोजिम बिगो बराबरको जरिवाना र कैद सजायको मागसहित अभियोग दर्ता गरेको थियो । बरामद सुनसम्बन्धी कार्य ऐनको दफा ३ अन्तर्गत निषेधित भएकाले, १८ करोड ६५ लाख दुई हजार ७०६ रुपियाँ बराबर बिगो कायम गरी जरिवाना र कैदको माग गरिएको थियो।
२०८२ भदौ ५ गते बाबुछोरी बारा जिल्ला अदालतमा आत्मसमर्पण गरे । त्यसपछि जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले अशोककुमारलाई १५ लाख र छोरी निवेदिकालाई १० लाख, साथै सम्पत्ति शुद्धिकरणका लागि थप १५–१५ लाख रुपियाँ धरौटी राखेर साधारण तारिखमा रिहा गर्ने आदेश जारी गरेको थियो ।
निवेदिका सिन्हाले २०६३ साल चैत १५ गते पर्सा जिल्ला, वीरगन्ज–२ बाट नेपाली नागरिकता समेत लिएकी थिइन् ।
यसैबिच राजस्व अनुसन्धान विभाग ललितपुरले २०८१ माघ १२ गते बारा जिल्ला अदालतमा दायर अर्को अभियोगपत्रमा अशोककुमारसँग कुल ३४ करोड २४ लाख ३१ हजार ४८० रुपियाँ असुल गर्ने माग गरेको छ ।
हालसम्म बाबुछोरीविरुद्ध सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटसम्बन्धी तीन वटा छुट्टाछुट्टै अभियोगपत्र दर्ता भइसकेको छ । ६५ वर्षका अशोककुमार सिन्हा स्वास्थ्य कारणले नियमित उपचारमा रहनुपर्ने भएकाले धरौटीमा रिहा भएका हुन्।
अदालतले सुन कारोबारी विदेशी नागरिकलाई हाजिर भएको दिनै धरौटीमा छाडेपछि बारामा यो मुद्दा व्यापक चर्चाको विषय बनेको छ । कानुन व्यवसायीहरूका अनुसार, अगामी अदालती प्रक्रिया र निर्णयमा सर्वसाधारणको चासो उच्च रहेको छ ।