बारा | नेपाल पत्रकार महासंघ, बारा शाखाले सामाजिक सञ्जालमार्फत महिला पत्रकारको चरित्र हत्या गर्ने गरी भ्रामक सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।
महासंघले आज (२०८२ असोज ११) जारी गरेको विज्ञप्तिमा कलैया उपमहानगरपालिका–१ निवासी पत्रकार अञ्जली कुमारी गुप्ता माथि देवताल गाउँपालिका निवासी मोहनलाल पण्डितले गरेको आपत्तिजनक कार्यप्रति गम्भीर आपत्ति जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत जीवनमा भ्रामक टिप्पणी गर्ने वा लाञ्छना लगाउने कार्य कुनै हालतमा स्वीकार्य छैन । महिला पत्रकारहरूको सुरक्षा, मर्यादा र सम्मान सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो ।”
महासंघका सूचना अधिकारी तथा सहसचिव इन्दीप कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा पत्रकार गुप्तामाथि सामाजिक सञ्जालमार्फत आधारहीन सामग्री प्रचार गरिएको उल्लेख छ । यस घटनाले पत्रकारिताको वातावरणमै नकारात्मक असर पारेको भन्दै महासंघले चासो व्यक्त गरेको छ ।
महासंघले घटनामा संलग्न मोहनलाल पण्डितलाई तत्काल छानबिन गरी कानुनी दायरामा ल्याउन माग गर्दै सम्बन्धित निकायलाई भूमिका खेल्न आग्रह गरेको छ । साथै पत्रकार गुप्ताको शारीरिक सुरक्षा मात्र होइन, मानसिक सान्त्वनाको सुनिश्चितता गर्न राज्य र सरोकारवाला निकायलाई जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ ।
यसबाहेक, महासंघले यस्ता घटनाले पत्रकारिताको स्वतन्त्रता र महिला पत्रकारहरूको सहभागितामाथि नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ ।
संविधानले सामाजिक सञ्जालमार्फत गलत सूचना, चरित्र हत्या वा आपत्तिजनक सामग्री प्रकाशन गर्ने कार्य इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ (Cyber Law of Nepal) अन्तर्गत सजाययोग्य अपराध भनेकाे छ । सो ऐनको दफा ४७ मा “अश्लील वा अपमानजनक सामग्री इलेक्ट्रोनिक माध्यममार्फत प्रकाशन वा प्रसारण गरेमा” कारबाही हुने प्रावधान छ । यस्तो कसुरमा अधिकतम १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुन सक्छ ।
महिला पत्रकारको सम्मान र सुरक्षामा प्रश्न उठाउने कार्य केवल सामाजिक समस्या मात्र नभई कानुनी दृष्टिले समेत गम्भीर अपराध भएको महासंघ बाराको अडान रहेकाे विज्ञप्तिमा भनिएकाे छ ।
